काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले मलमा कमिसन खोजेर समयमा ल्याउन नसक्ने सरकारसँग आस गर्नु व्यर्थ रहेको बताएका छन् ।
वर्तमान केपी ओली नेतृत्वको सरकार भ्रष्टचारमा कति लिप्त छ भन्ने कुरा नेकपाकै अध्यक्ष प्रचण्डको पत्रबाट स्पष्ट भएको नेता महतको भनाइ छ ।
काँग्रेसको कोरोना अनुगमन समितिले शनिबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘यो सरकार भ्रष्टहरुको झुण्ड हो भन्ने कुरा नेपाली काँग्रेसले पहिलेदेखि नै भन्दै आएको हो, आज प्रचण्डको पत्रले त्यसमा थप पुष्टि गरेको छ ।’
सरकारका भ्रष्ट क्रियाकलापले जनतामा सरकार र पार्टी दुवैको छवि विग्रिएको उनले बताए । ‘तपाईहरुलाई थाहै छ वर्तमान सत्तारुढ नेकपाका दुईजना अध्यक्ष छन् र एकजना अध्यक्ष प्रचण्ड हुनुहुन्छ, उहाँले प्रधानमन्त्री तथा सोही दलका अर्का अध्यक्षलाई लेखेको पत्रमा नै यो सरकारका भ्रष्ट क्रियाकलापले जनतामा सरकार र पार्टी दुवैको छवि विग्रिएको उल्लेख छ,’ महतले भने । उनले वर्तमान सरकारले नेपालमा अनावश्यक विदेशी हस्तक्षेप भित्र्याएको आरोप पनि लगाए ।
‘यो सरकारलाई आफैप्रति तथा जनताप्रति पनि कुनै विश्वास छैन बरु विदेशीहरु आएर तिमीहरु मिल भन्दा मिल्छ । जुन सरकारले हाम्रो शक्तिको स्रोत विदेश हो भन्ने ठान्दछ, त्यो पार्टी देश र जनताको पक्षमा छैन, नेपाली जनताले आफ्नो सरकारका रुपमा लिन पनि सकेका छैनन् ।
राष्ट्रवादको नाममा नारा दिएर सत्तामा आए पनि यो सरकारको व्यवहार उल्टो छ, त्यसैले सरकारको यो खोक्रो राष्ट्रवाद हो,’ उनले भने ।
डा.महतले नेकपा नेपाली जनताका तथा किसानका समस्याहरुमा संवेदनशील नरहेको आरोप पनि लगाए । ‘मलखाद किन्दा कमिसन हेरेर बस्ने, कमिसन आउँछ कि आउँदैन भनेर कुर्ने र किसानका लागि समयमा नल्याउने यो सरकार किसानका समस्याप्रति कहिल्यै संवेदनशील हुँदैन,’ नेता महतले भने ।




