समाचार

ट्राफिक प्रहरीको अभियान : तपाइँको मास्क खोई ?

कर्णाली- लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई ?’ अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए÷नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख उदयसिं सिँजापतिले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान शुरु गरिएको बताए । “मास्क, पञ्जा र सेनिटाइजरको प्रयोगले कोरोनाबाट बच्न मद्दत पुर्याउँछ, मास्क नहुने यात्रुलाई मास्क पनि दिएका छौँ,” उनले भने , “बुझेर पनि लापरबाही गर्ने बानी भएकाले स्वास्थ्य सुरक्षाप्रति सर्तक रहन अभियान चलाएका हौँ ।” सुर्खेत बसपार्कमा ट्राफिक प्रहरी ‘तपाइँको मास्क खोई ?’ लेखेको प्लेकार्ड लिएर बसिरहेका हुन्छन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा प्रदेशका सबै जिल्लामा यो अभियान लागू गरिएको बताइएको छ ।

अभियानको पहिलो दिन आज सुर्खेतमा ट्राफिक प्रहरीले २०० थान मास्क, १०० थान पञ्जा वितरण गरेको छ । यो अभियान वीरेन्द्रनगर प्रवेश गर्ने सुब्बाकुना, बाङ्गेसिमल, कपासे तथा मुख्य चोकहरुमा लागू छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *