कोशी प्रदेश

राष्ट्रिय समाचार समितिकाे भवन चैनपुरमा बन्दै

संखुवासभा । छिमेकी राष्ट्र चीनको सीमावर्ति जिल्ला नेपालको पूर्वी सीमानामा रहेको संखुवासभा जिल्लाको चैनपुर नगरीमा राष्ट्रिय समाचार समितिको भवन बन्ने भएको छ ।
नेपाल सरकारको बजेटबाट बन्न लागेको ४ कोठे पक्की आरसीसी भवनको लागि संघीय सांसद राजेन्द्रप्रसाद गौतमको सकृयतामा संखुवासभाको चैनपुर नगरपालिका वडा नं.६ निवासी ४ जना महिलाहरुले संयुक्त रुपमा जग्गा उपलब्ध गराएपछि सो स्थानमा भवन बन्ने भएको हो । नेपालको पूर्वी सीमानामा रहेको संखुवासभाको सुन्दर नगरी एवं व्यापारिक चैनपुर बजारमा रहेका स्थानीय जग्गादाताहरु स्थानीय समाजसेवी लवकुमार श्रेष्ठकी धर्मपत्नी बवि श्रेष्ठ, चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्यकी धर्मपत्नी अञ्जना शाक्य, स्थानीय समाजसेवी एवं राष्ट्रसेवक कर्मचारी अर्जुन श्रेष्ठकी धर्मपत्नी यशोदा श्रेष्ठ, र स्थानीय युवा आशिष श्रेष्ठकी धर्मपत्नी रमा श्रेष्ठ सहित ४ जनाले ४ आना जग्गा रा.स.स.को नाममा एकवर्ष अगाडि पास गरेपछि पूर्वी पहाडी जिल्ला संखुवासभामा पहिलो पटक राष्ट्रिय समाचार समितिले आफ्नो जिल्ला शाखाको भवन निर्माण कार्य गर्न लागेको हो ।
संखुवासभा जिल्लामा बन्ने नयाँ भवनका लागि ५० लाख संघीय सरकारको बजेट र ५ लाख चैनपुर नगरपालिकाको लगानीमा ५५ लाख खर्चेर सुविधा सम्पन्न ४ कोठे आरसिसी भवन निर्माण हुने भएपछि संखुवासभाका दक्षिणी क्षेत्रमा काम गर्ने कृयाशिल पत्रकारहरुलाई सञ्चार क्षेत्रमा काम गर्न थप सहजता हुने रा.स.स. भवन निर्माण संयोजन समितिका प्रतिनिधि एवं रा.स.स. संखुवासभाका प्रतिनिधि पदम अधिकारीले जानकारी दिए । पत्रकार अधिकारीका अनुसार १ वर्ष अगाडि रा.स.स. केन्द्रीय अध्यक्ष हरिहर अधिकारीको प्रेरणाका कारण अघिल्लो वर्ष जग्गा निशुल्क जुटाइ यस वर्ष स्थानीय सरकार चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीको अगुवाइमा यस वर्षको नगर परिषदबाट बजेट विनियोजन गरी पहल अगाडि बढाएसँगै संघीय सरकारको बजेट मागका लागि संघीय सांसद राजेन्द्रप्रसाद गौतमबाट पहल कदमी गरेपछि नेपाल सरकारको अर्थ मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएपछि रासस भवन बन्ने भएको चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले जानकारी दिए । रासस भवन निर्माणका लागि सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरुको हितमा भवन निर्माण हुन लागेकोमा अग्रज पत्रकार एवं नेकपाका नेता उमेशकुमार डाँगीले उक्त निर्णयको स्वागत गरेका थिए । यसैगरी नेपाली कांग्रेस संखुवासभाका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले रासस भवन निर्माणका लागि दूर्गम पहाडी एवं हिमाली जिल्ला संखुवासभामा बन्ने भएपछि सञ्चार क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुलाई थप सहजता हुनेमा विश्वस्त रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *