समाचार

मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएकाे चर्चा

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले  नेपाली महिलाको हक, अधिकारका लागि मङ्गलादेवीले आवाज उठाउनुभएको उल्लेख गर्दैै पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व सिंह भएको उल्लेख गरे । पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गरे । “मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्”, उनले भने ।

उनले दक्षिण एशियामा पहिलो महिलामन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रपति नेपाली महिला भएको बताउँदै नेपाली महिला अमेरिकी महिलाभन्दा पनि अगाडि भएको स्पष्ट पारे । प्रतिशत भन्दा प्रतिस्पर्धा गरेर महिला अगाडि बढ्नुपर्ने उनको भनाई थियो । सामाजिक रुपान्तरणका लागि महिला लाग्नुपर्ने प्रवक्ता शर्माले बताए।

काँग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गरिन । अर्का केन्द्रीय सदस्य सीता गुरुङले भनिन, “पार्टीको विधानले टोल, वडा, पालिका, प्रदेश र केन्द्रमा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेको छ, उक्त अधिकार कार्यान्वयनका लागि महिला सङ्घले दवाव दिनुपर्छ”,। सङ्घका अध्यक्ष उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला सङ्घको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरिन । सङ्घका महासचिव धना खतिवडाले पार्टीभित्र देखिएको गुट, उपगुटको पछाडि महिला नलाग्न आग्रह गरिन ।

सङ्घका केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल, काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी, झापा अध्यक्ष सुशीला ढकाल, कञ्चनपुर अध्यक्ष मधु भारतीलगायतले संविधानले ग्यारेन्टी गरेको महिलाको अधिकार प्राप्त गर्नका लागि पार्टी र सरकारलाई दवाव दिनु पर्नेबताएका थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *