देश

बाढीपहिराेबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन नेविसङ्घकाे माग

काठमाडौँ।  नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले देशभर बाढीपहिराबाट मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकको बाह्रबीसे, जुगल गाउँपालिका, बाजुराको बूढीनन्दा नगरपालिका र अछामको रामरोशन गाउँपालिकामा गएको बाढीपहिरामा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेका छन।

“बाढी, पहिरो र डुबानका कारण प्रभावित उद्धार र राहत कार्यमा सरकारले तदारुकता देखाई घाइतेको अविलम्ब निःशुल्क उपचारको व्यवस्था मिलाउन नेविसङ्घ माग गर्दछ”, अध्यक्ष ढुङ्गानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले बाढीपहिराका कारण घरबारविहीन भएकालाई पुनर्वास तथा दीर्घकालीन जीवीकोपार्जनको व्यवस्था मिलाउन आग्रह गरे । नेविसङ्घले विद्यार्थीलाई विपद्का समयमा उद्धार र राहतमा जुट्नसमेत आह्वान गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *