कोशी प्रदेश

सङ्खुवासभामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान शुरु

सङ्खुवासभा। संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान हिजोबाट जिल्लाको २ नगरपालिका खाँदवारी र चैनपुरबाट एकैसाथ शुरु भएको छ ।
जिल्ला सदरमुकाम खाँदवारीको वडा नं. ३ को मानेभञ्ज्याङमा संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले आइतवार राष्ट्रिय परिचय पत्र वितरणको अभियानलाई शुभारम्भ गरेका थिए । खाँदवारी नगरपालिकाको वडा नं. १ र ७ बाहेक ९ वटै वडा भित्र एकैसाथ राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता अभियान शुरु गरिएको खाँदवारी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष भरत घिमिरेले जानकारी दिए । वडा अध्यक्ष घिमिरेका अनुसार नगरको १ र ७ नं. वडामा जिल्ला प्रशसन कार्यालयको डेस्कबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य गरिदै आएको समेत जानकारी दिए ।
यसै गरी चैनपुर नगरपालिका वडा नंं. ६ र ७ ले संयुक्त रुपमा कार्यत्रमmको आयोजना गरी आजै चेनपुर नगरपालकिाको सभाहलमा राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता अभियान शुरु गरेको छ । चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले आफ्नो व्यक्तिगत विवरण भराएर कार्यक्रमको शुभारम्भ गरेका थिए । यसैगरी चैनपुर नगरपालिकाका नगर उपप्रमुख मुना श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष नेत्रबहादुर डाँगी, वडा नं. ७ का वडा अध्यक्ष पदमबहादुर तामाङ लगायत जनप्रतिनिधि र स्थानीय वडावासीहरुले समेत आजैबाट आ–आफ्नो विवरण भराएर कामको थालनी गरेका छन् । चैनपुर नगरपालिकाले २२ वटा दर्ता इकाई केन्द्रबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यको थालनी गरेको चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण ढकालले जानकारी दिए । प्रशासकीय प्रमुख ढकालका अनुसार चैनपुर नगरपालिकाले १६९३० जना नगरका सेवाग्राही नागरिकहरुको राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य १९ दिन भित्र नगरका ११ वटै वडामा सम्पन्न गर्ने गरी विवरण संकलन कार्य शुरु गरिएको समेत जानकारी दिए ।
डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १ का संखुवासभा र झापा जिल्लामा विवरण संकलन भइरहेकोमा संखुवासभा जिल्लामा २०७६ साउन १ गते बाट नै जिल्ला प्रशासन कार्यालय खाँदवारीमा डेस्क स्थापना भई कार्य सुचारु भएपनि हाल आएर जिल्ला भित्रका २ नगरपालिकामा एकैसाथ ४० वटा दर्ता स्टेसनबाट सेवा शुरु भएको हो । डिजिटल प्रविधिको परिचय पत्रमा स्वयं व्यक्तिको फोटो र ल्याप्चे सहित परिचयपत्र विवरणमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दश औँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्ने कागजात संकलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । परिचयपत्र निर्माणका लागि नागरिकले आफ्ना कागजातहरु नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल आवश्यक पर्ने समेत जनाइकोे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *