देश

निवर्तमान प्रहरी महानिरीक्षक ज्ञवालीको बिदाइ

काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ । तीस वर्षे सेवा पुरा गरेपछि तीनैजनालाई बिदाइ गरिएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई फूलमाला लगाई बिदाइ गरे । बिदाइ कार्यक्रममा ज्ञवालीले आफ्नो कार्यकालमा सङ्गठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीको कार्यक्षमता तथा कार्यकौशलअनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने, सङ्गठनका हरेक सदस्यको सङ्गठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए ।

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएता पनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिइ सङ्गठनमा प्रहरी कर्मचारीको वृत्तिविकासलगायत विविध सुधारका पक्षलाई गति दिएको उनको भनाइ थियो । प्रहरी कर्मचारीमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको ज्ञवालीले बताए । सो अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घसेवा सम्मान प्रदान गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *