एजेन्सि । चार महिना पछि क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोरोना भाइरसले प्रभावित पारेको अन्तराष्ट्रिय क्रिकेट बिहीबारदेखि सुरु भएको हो । इंग्ल्याण्ड र वेष्ट इन्डिजबीच सुरु भएको पहिलो टेष्टमा आयोजक इंग्ल्याण्डले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।
साउथह्याम्टनमा पानी परेपछि उक्त खेल दुई घण्टा पछि सुरु भएको हो । सामाजिक सुरक्षालाई ध्यानमा राख्दै खेल सञ्चालन गरिएको आयोजक देशले जनाएको छ । अहिले इंग्ल्याण्डले १८ ओभरमा एक विकेट गुमाएर ३५ रन बनाएको छ । प्रारम्भिक ब्याट्सम्यान डोम सिब्ली रन नै बनाउन नपाई पवेलियन फर्केका छन् । उनलाई वेष्ट इन्डिजका सानन गेब्रिलले आउट गरेका हुन् ।
अहिले इंग्ल्याण्डका रोरी बर्नस र जय डेनलीले ब्याटिङ गरिरहेका छन् । बर्नस २० तथा डेनलीले १४ रनका साथ क्रिजमा छन् । खेल पटक पटक वर्षाले विथोलिरहेको छ ।




