एजेन्सी । यही वर्ष सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कप टि २० क्रिकेट प्रतियोगिता रद्द हुने सम्भावना बढेर गएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआर्ई) का अध्यक्ष सौरभ गांगुलीले उक्त प्रतियोगिता रद्द हुने बताएका छन् । कोरोना भाइरसका कारण अन्योलमा रहेको सो प्रतियोगिताबारे एसियन क्रिकेट काउन्सिल (एसीसी)ले औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।
पाकिस्तानमा आयोजना भए उक्त प्रतियोगिता भारतले नखेल्ने बताउँदै आएको छ । आयोजक पाकिस्तानले भनाने एसिया कप श्रीलंका वा युएईमा आयोजना गरिने बताउँदै आएको छ । उक्त प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एउटा छनोट भएर आउने देशबीच प्रतिस्पर्धा हुने खेल तालिका तय गरिएको थियो । नेपाल भने एसिया कप यात्राको पहिलो चरणबाटै बाहिरिएको थियो ।
गत वर्ष फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपाल चौथो स्थानमा रही बाहिरिएको थियो । एसिया कप रद्द भए इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजना गर्न बाटो खुल्नेछ ।




