काठमाडौँ, २४ असार । गत वर्षको भन्दा झण्डै दोब्बर मूल्यमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा परेपछि नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्साहित भएका छन् । हाल कोरोना भाइरसका कारण चितवनस्थित घरमै रहेका सन्दीपले सिपिएलका लागि छनोट भएपछि उक्त प्रतियोगिता खेल्न लालायित भएको बताएका छन् ।
उनले अहिलेको अवस्था चाँडै साम्य हुने र सो प्रतियोगितामा भाग लिने दिनको प्रतिक्षमा रहेको बताए । सन्दीप सिपिएलको तेस्रो संस्करणका लागि छनोटमा परेका हुन् । उनले यस अघिका दुई संस्करणमा लगातार आफ्नो स्थान सुरक्षित बनाएका थिए । सन् २०१८ को पहिलो संस्करणमा सन्दीपले पाँच हजार अमेरिकी डलरमा खेलेका थिए भने गत वर्ष ७० हजार डलरमा खेलेका थिए । यसपालीको संस्करणको लागि उनले आफ्नो मूल्य ९० हजार डलर तोकेका थिए । महंगो मूल्य तोकेपछि छनोट हुने हुन वा होइनन् भन्ने आशंका रहेका बेला सोमबार राति सन्दीप सिपिएलमा छनोट हुन सफल भएका थिए । उनले गत वर्षको भन्दा झण्डै दोब्बर मूल्यमा छनोट भएर सबैलाई चकित पारे । सो प्रतियोगिता खेले बापत उनले एक लाख ३० हजार डलर पारिश्रमिक पाउने छन् ।
विदेशी प्रतियोगितामा सन्दीपको यही नै उच्च पारिश्रमिक हो । उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । कोरोना भाइरसका कारण सन्दीप लामो समयदेखि खेल मैदान बाहिर छन् । उनी खेलमा फर्कन आतुर छन् । सिपिएल अगस्त १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि त्यहाँको सरकारको स्वीकृति आउन भने बाँकी छ ।




