सङ्खुवासभा।विश्वमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन नेपाल सरकारले देशभर लकडाउन गरेको तीसौँ दिन आज पनि जिल्लाका दशै पालिकाहरुमा यसको प्रभाव पूर्ण रुपमा परेको छ ।
सरकारले गरेको लकडाउन ४ साता नाघीसक्दासम्म जनताहरुले नेपाल सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गरेका छन् । जति जति लकडाउनको समयावधि बढ्दै छ त्यतिनै मानिसहरुको जनजीवनमा अप्ठ्यारो परिस्थितिलाई समेत सामना गर्दै आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर नागरिकहरुले लकडाउनको पूर्ण रुपमा पालना गरेका छन् । यतिखेर ग्रामिण भेगका किसान मजदुरहरु खेती किसान र पशु चौपायाको कार्यमा सदा झैँ नियमित कार्यमा सामाजिक दूरीलाई कायम गर्दै मकै गोड्न, हिँउदे धानखेती स्याहार्न र दाउराघाँसमा व्यस्त देखिन्छन् । उसोत मानिसहरुमा लकडाउन भएको १ महिना वितिसक्दा दैनिक उपभोग्य सामान आपूर्ति गर्न भने उनीहरुलाई संकटका दिन शुरु भएका छन् । यसैगरी नियमित रुपमा बालबच्चाहरुलाई ख्वाइने भिटामिन ‘ए’ को थोपा र विभिन्न प्रकारका खोपहरु आजबाट जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले मातहतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई उक्त कार्य गर्न गराउन समेत सर्कुलर गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सङखुवासभाले जनाएको छ । लामो समयदेखि नियमित रुपमा गर्भवति जाँच गर्ने महिलाहरुलाई समेत स्वास्थ्य चेकजाँचमा समस्या हुन थालेको छ ।
नेपाल सरकारले देशभरका जनताहरुको स्वास्थ्यको अवस्थालाई ध्यानमा राखेर गरेको लकडाउनमा आज तीसौँ दिन पनि विगतका दिनहरुमाझै लकडाउनको प्रभाव सवेरैबाट जिल्ला सदरमुकाम खाँदवारी¸ जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको चैनपुर बजार, जिल्लाका व्यापारिक बजारहरु चैनपुर क्षेत्रका अन्य साना बजारहरुः पोखरीबजार¸ खराङबजार¸ गुफापोखरी नुनढाकी बजार लगायत बजारहरुमा लकडाउनको प्रभाव परेको छ । यसै गरी जिल्लाका अन्य बजारहरु धर्मदेवी नगरपालिकाको मुढे शनिश्चरे तामाफोक बजार¸ विहीबारे आँखिभुई बजार, खाँदवारी नगरपालिका भित्रका तुम्लिङटार बजार¸ मानेभञ्ज्याङ बजार, मकालुको नुम बजार लगायत शहरी क्षेत्रहरुमा लकडाउनको प्रभाव पूर्ण रुपमा परी शहरबजारमा मानिसहरुको आज पनि आवत जावतमा सुनसान देखिएको छ । देश लकडाउन भएसँगै नियमित दिनचर्याको रुपमा झैँ प्रत्येक दिन विहान सबेरैबाट बजार क्षेत्रहरुमा बाक्लो सुरक्षाकर्मीहरुको नियमित गस्ती र निगरानी हुँदा आक्कल झुक्कल पैदल यात्रा गर्ने जोकोही यात्रीहरु कोरना भाइरस सचेतनाको अनुशिक्षण लिएर छोडिने गरेको चैनपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार ३ दिन यता चैनपुर बजार र आसपास क्षेत्रबाट मात्र १ सय को हाराहारीमा सर्वसाराधण नागरिकहरुलाइ सुरक्षा निकायले कोरोना भाइरस सम्बन्धि अनुशिक्षणको शिक्षा दिइ रहेको छ । जिल्लाको दक्षिणी क्षेत्रको धर्मदेवी नगरपालिकाको टुटे देउरालीमा रहेको नाकामा गाडि धुने वासरुम सहितको चेकपोष्ट खडा गरिएको छ, ५ दिन अघि जिल्ला समन्वय समिति संखुवासभाको संयोजनमा धर्मदेवी नगरपालिकाको टुटे देउराली र केवाँ खोला नाकामा जिल्ला प्रवेश नाकालाई कडाईका साथ वास रुम बनाउने गरी निर्णय गरिएको थियो । यो नाकाबाट अव सुरक्षाको कडा चेकजाँच र जुनसुकै गाडिलाई वास गरेर किटनासक औषधि गरेर मात्र छोडिने धर्मदेवी नगरपालिकाका नगरप्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो । उसोत जिल्लाका सबै पालिकाको प्रवेश नाकानाकामा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र जनप्रतिनिधि सहितको कडा निगरानीका साथ अवेर रातीसम्म गस्ती र चेकिङमा उनीहरु अहोरात्र खटिइरहेका छन् । तर आजबाट चैनपुर नगरपालिकाले भने पिलुवा खोला नाकाबाहेक अन्य नाकाहरु स्वास्थ्य सहायता कक्षमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई आ–आफ्नो स्वास्थ्य संस्थामा भोलिबाट पmर्कने व्यवस्था मिलाएको नगरस्वास्थ्य प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी केही दिन अघिदेखि सरकारले लकडाउनलाई अझ थप प्रभावकारी बनाउन एक पालिकाबाट अर्को पालिकामा प्रवेश गर्ने नाकाहरुमा थप सुरक्षा व्यवस्था मिलाउन जनप्रतिनिधि सहित कडाइका साथ लागू गरिएसँगै जनप्रतिनिधिहरु नै नाकानाकामा सुरक्षा गरिरहेका छन् । एक पालिकाबाट अर्को पालिकामा आवत जावत गर्न नाकामा सुरक्षाकर्मी र जनप्रतिनिधि सहित रहेर जोकोही अर्कोपालिकाबाट आएका नयाँ मानिसहरुलाई प्रवेश गर्न नदिन रखवाली गरेर ड्युटीमा खटेको देखिन्छ । जिल्ला भित्र रहेका बजार क्षेत्रका पसल¸ होटल¸ व्यापार व्यवसाय आज पनि ठप्प छन् । जिल्ला भित्र संचालित सानाठूला हाइड्रोपावरका आयोजनाहरुमा लामो समयदेखि काम गरीरहेका त्यहाँका मजदुरहरुलाई बाहिरी वातावरणमा घुलमिल हुन नदिई आयोजना स्थल बाहिर नगई त्यहीँ रहेर काम गर्न श्रमिकहरुले एक साता अघिदेखि काम गर्न शुरु गरेका छन् । जिल्ला भित्र चल्ने साना ठूला सबै सवारी साधनहरु पालिकाले खटाएर खाद्यान्न बोक्ने सवारी साधन, विरामी बोक्ने एम्बुलेन्स, सुरक्षकर्मी र स्वास्थ्यकर्मी चढ्ने गाडी बाहेक आज पनि ठप्प छन् । नेपाल सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला स्थित सुरक्षा निकायहरुले सर्वसाधारण जनताहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे सुरक्षा निकाय वा जनप्रतिनिधिलाई खवर गरेर मास्क लगाएर मात्र आफू सुरक्षितसाथ बाहिर निस्कन र काममा गएर तुरुन्त फर्कन नागरिकहरुलाई फर्कन सुरक्षाकर्मीले निर्देशन गरेको सङ्खुवासभाका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मिमबहादुर लामाले जानकारी दिनुभयो । डिएसपी लामाका अनुसार लकडाउन भएसँगै जिल्ला भित्रका शहरहरुमा सर्वसाधारण नागरिकहरुलाई ध्यानमा राखेर खाद्यान्न, तरकारी पसल लगायतका अत्यावशकीय सामान ढुवानीको व्यवस्था समेत गाउँवस्तीका पसलमा समेत गरिएको र शहरी क्षेत्रमा एउटा निश्चित समयमा दैनिक उपभोग्य सामान सुलभ मूल्यमा खरिदका लागि उपभोक्ताहरुलाई समय निर्धारण गरिएको समेत जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा निकायले लकडाउनलाई अझ प्रभावकारी बनाउन जिल्ला स्थित राजनीतिक दल, जनप्रतिनिधिहरु, नागरिक समाज, सञ्चारकर्मीसँगको समन्वय बढाएर जनतालाई घरबाट बाहिर ननिस्किकन घर भित्रै बसेर लकडाउनको पूर्ण रुपमा पालना गरी सुरक्षाकर्मीहरुलाई सहयोग गर्न आग्रह गर्दै जिल्लाका दशै पालिकाका नाका भित्र बाहिरबाट अपरिचित मानिसहरुको निगरानी बढाउने तयारीकासाथ स्थानीय निकायका जनप्रतिनिधिहरुसँग सहयोग लिएर देश बाहिरबाट आएका जोकोही नागरिकहरुको खोजी गरी उनीहरुको स्वास्थ्य चेकजाँच गरेर आवश्यकताका आधारमा क्वारेन्टाइनमा राख्न जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकाय परिचालन गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । लकडाउनको समयमा अति विपन्न, श्रमिक, मजदुरलाई लक्षित गरी धर्मदेवी नगरपालिकाले वडा नं.१, ४, ६ र ७ मा पहिलो चरणको खाद्य राहत सामग्री उपलब्ध गराएको धर्मदेवी नगरपालिकाका नगरप्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो । नगर प्रमुख जिमीका अनुसार २ दिन भित्र बाँकी रहेका सबै वडाहरुमा खाद्य सामग्री पुर्याउने व्यवस्था मिलाइएको समेत जानकारी दिनुभयो । नगरका ९ वटा वडा भित्र रहेका १३ सय घर परिवारलाई खाद्य राहत सामग्री उपलब्ध गराउने क्रममा बढीमा ३० केजीसम्म चामल, २ केजी दाल, २ केजी चिनी, २ केजी नुन र २ लिटर तेल उपलब्ध गराउँदै आएको समेत नगरप्रमुख जिमीले जानकारी दिनुभयो ।




