मनोरञ्जन

‘मन त मेरो लक्का जवान’ भन्दै नाँचे प्रियंकादेखि शिवहरीसम्म

काठमाडौं । हास्यकलाकार शिवहरी पौडेलको डेब्यू निर्देशन रहेको फिल्म ‘लक्का जवान’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको टाइटल बोल्ने ‘मन त मेरो लक्का जवान’ बोलको गीतमा बाबुल गिरीको संगीत र डिपी खनालको शब्द छ । गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका सम्पूर्ण कलाकारलाई स्थान दिइएको छ । किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतले गीतमा ठुम्का लगाएका छन् । गीतको अडियो र भिडियो दुवै औसत छ ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह(निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो । चैत २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्ममा दीलिप र प्रियंकाको जोडी बाँधिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *