मुम्बई । अभिनेता सलमान खानले फिल्म ‘दबंग ३’का भिलेन तथा साउथ सुपरस्टार किच्चा सुदीपलाई कार उपहार दिएका छन् । फिल्मको कमाईबाट सलमान निकै खुसी छन् । आफ्नो कमाईको अधिकांंश रकम सामाजिक कार्यमा खर्चिने सलमानले यसपटक कलाकारलाई उपहार दिएक हुन् ।
सलमान उपहार लिएर सुदीपको घरमै पुगेका थिए । सलमानले सुदीपलाई डेढ करोडको कार गिफ्ट गरेका हुन् । यसको खुलासा सुदीप स्वयंले गरेका हुन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै सलमानलाई धन्यवाद भनेका छन् । ‘यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने तपाईंसँग सधैं राम्रो हुन्छ । सलमान सरले मलाई यो लाइनमा भरोसा गरेर जिउन सिकाउनुभयो,’ उनले लेखेका छन् ।
सलमानको ‘दबंग ३’ र ‘गुड न्यूज’ एक हप्ताको अन्तरमा प्रदर्शन भएका थिए । पपुलारिटीदेखि कमाईसम्म ‘गुड न्यूज’ ‘दबंग ३’ माथि भारी परेको छ । फिल्मको प्रचारमा समेत सलमानले निकै मेहेनत गरेका थिए । तर, ‘वर्ड अफ माउथ’ कमजोर हुँदा फिल्मले बक्सअफिसमा ठूलो कमाई गर्न सकेन । यद्यपि, फिल्मले लगानी भने सुरक्षित गरेको छ । फिल्मका निर्देशक प्रभु देवा हुन् ।




