काठमाडौं । धेरै असफल फिल्म दिएपछि केही अगाडि ‘छ माया छपक्कै’ सफल फिल्म दिएकी केकी पछिल्लो समय निकै ब्यस्त छिन् । फिल्म ‘स्वर’बाट अभिनयमा डेब्यू गरेकी यी सुन्दरीले एक दशक लामो फिल्मी करिअरमा दिएको पहिलो हिट फिल्म हो ‘छ माया छपक्कै’ । तर फिल्म हिटको क्रेडिट भने उनको भागमा परेन ।
एकपछि अर्को फिल्म असफल हुँदा पनि व्यस्त रहेकी केकीलाई फिल्म ‘छ माया छपक्कै’को सफलतापछि झन् भ्याइनभ्याइ छ । हाल चर्चामा रहेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’की निर्मात्री समेत रहेकी उनी गएको एक महिनादेखि फिल्म ‘झिँगेदाउ’को छायांकनमा व्यस्त थिइन् । यो फिल्मका कारण उनले ‘चालबाज’ समेत छोडेकी छन् ।
‘झिँगेदाउ’ को छायांकन सकिए लगत्तै अभिनेत्री केकी बिहीबार साँझ अमेरिका प्रस्थान गरेकी छन् । जनवरी ४ तारिखमा अमेरिकाको ओहोयास्थिति एक्रोनमा हुन लागेको ‘मेरो डान्स कप’को चौथो सिजन र ‘मेरो भ्वाइस कप’को दोस्रो सिजनको उद्घाटन कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । उनको अमेरिका बसाई एक महिना लामो हुने बताइएको छ ।
‘मेरो डान्स कप’ मा अभिनेत्री केकी निर्णायकको भूमिकामा छिन् । राम्रो पारिश्रमिक लिएर उनी यो रियालिटी शोमा निर्णायक बन्न लागेको जानकारी प्राप्त छ । ‘झिँगेदाउ’ पछि केकी फुर्सदिलो हुने कतिपयको अनुमान थियो । तर, यो फिल्मको छायांकन सकिए लगत्तै अमेरिका उड्न लागेकी उनलाई अझै केही समय भ्याइभ्याइ हुने देखिन्छ ।




