कला/साहित्य

कवि अधिकारी सम्मानित

काठमाडौँ । कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित भएका छन् ।

कवि अधिकारीको लेखन यात्राको स्वर्ण वर्षका अवसर पारेर ‘नझरेका फूलहरु’ संस्थाले उनलाई मोरङको बेलबारीमा सम्मान गरेको हो ।

कार्यक्रममा कवि हेमन यात्री, देवान किराँती, पूरन याक्खा, अस्मिता बिष्ट, भरत वर्वरिक, रेखा सुवेदीलगायतले कवि अधिकारीको हालै प्रकाशित कविता सङ्ग्रह ‘पानीको परेड’बाट कवितावाचन गरेका थिए ।

कवि मनु मन्जिलले कवि अधिकारी आफ्नो पुस्ताका अग्रणी कवि र गीतकार भएको उल्लेख गरे । ‘नझरेका फूलहरु’ का प्रस्तोता केपी घिमिरेले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै कवि अधिकारीलाई सम्मान गर्न पाएकामा संस्था गौरवान्वित भएको धारणा राखे ।

कवि तथा गीतकार अधिकारीलाई सुन्न विभिन्न क्षेत्रका साहित्यकार र कलाकारको उपस्थिति थियो । कार्यक्रममा कवि अधिकारीले कविता र गीतका बारेमा सङ्क्षिप्त विचारसहित आफ्ना कविता र गीत वाचन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *