काठमाडौँ । टर्कीको भूकम्पमा राहत र उद्धार कार्यमा ६५ देशले सहयोग गरेका छन् । टर्कीको डिजास्टर म्यानेजमेन्ट एजेन्सीले अहिलेसम्म ६५ देशले राहत र उद्धार कार्यमा सहयोग गर्न २ हजार ६६० जना स्वयंसेवक पठाएको जनाएको छ ।
टर्कीमा अहिले उद्धार कार्यमा स्वदेश र विदेशका गरि २५ हजारभन्दा जना खटिरहेको एजेन्सीले जनाएको छ ।
त्यस्तै राहत कार्यमा ६२९ क्रेन र ३६० सवारी साधन प्रयोग गरिरहेको एजेन्सीले जानकारी दिएको छ । प्रभावितलाई तीन लाख कम्बल, ४१ हजार ५०४ परिवार पाल, हिटर र किचन सेट वितरण गरिएको छ ।
टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले पनि विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।
भूकम्पमा परेर अहिलेसम्म टर्की र सिरियामा ४ हजार ९४० जनाको मृत्यु भएको छ । जसमा टर्कीमा अहिलेसम्म ३३८१ जनाको मृत्यु भएको छ भने २० हजारभन्दा बढी घाइते भएका छन् । त्यस्तै टर्कीमा ११ हजारभन्दा बढी घर ध्वस्त भएको डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाएको छ । त्यस्तै सिरियामा अहिलेसम्म १५५९ जनाको मृत्यु भएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयानुसार सोमबार बिहान ४: १७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महशुस गरिएको थियो । सोमबारको भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा बढीका सय भन्दा बढी पराकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।




