खेलकुद

साउदी प्रो लिगमा रोनाल्डोको पहिलो गोल, हारबाट जोगियो अल नासर

रियाद । पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले ‘साउदी प्रो लिग’ मा पहिलो गोल गरेका छन् । गएराति अल फतेहसँग २ – १ गोलले पछि परेको अवस्थामा रोनाल्डोले गोल गर्दै अल नासरलाई हारबाट जोगाएका हुन् ।

प्रिन्स अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलको १२ औँ मिनेटमा नै घरेलु टोली अल फतेहले खाता खोलेको थियो । अल फतेहका लागि क्रिस्टियान टेलोले गोल गरेका हुन् । रोनाल्डोले त्यस लगत्तै गोल गरेपनि मान्यता पाएन । ४२ औँ मिनेटमा रोनाल्डोका ब्राजिलियन सहकर्मीले गोल गरेर खेललाई बराबरीमा ल्याए । दोस्रो हाफमा फेरि घरेलु टोली अल फतेहले अग्रता बनायो ।

५८ औँ मिनेटमा सोफियान बेनडेब्काले गोल गरे । इन्जुरी समयमा अल नासर पेनाल्टीको मौका पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ती गरेनन्। खेल सकिन लाग्दा तालिस्का रातो कार्ड पाएर मैदान बाहिरिएपछि अल नासर १० खेलाडीमा झरेको थियो ।

गत महिना २०० मिलियन युरोमा साउदी पुगेको रोनाल्डो आफ्नो पहिलो खेलमा गोल गर्न भने चुकेका थिए । यो नतिजापछि अल नासर तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको १५ खेलबाट ३४ अंक छ ।

एक खेल बढी खेलेको दोस्रो स्थानको अल सबाबको समान ३४ अंक छ । अब अल नासरले आगामी बिहीर अल वेदाको भ्रमण गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *