मुख्य समाचार

आइतवार पोखरामा परेको असिनापानीले ११ करोड बराबरको क्षति

काठमाडौं । पोखरामा गत फागुन ८ गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो ।

पोखरामा परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।

पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारिया अनुसार पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए।

कडारियाले राज्यले कृषकलाई दिएको बिमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताए । उनले असिनाका कारण सो वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको छ जानकारी दिए । उनकाअनुसार असिनापानी परेको दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन ।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।

उता, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएका गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्ण रुपमा क्षति भइ २० लाख बराबरको क्षति पुगेको बताए । असिनाको भारका कारण टनेल भाँचिएको उनको भनाइ छ ।

यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए । उनले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताए ।

पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।

पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *