काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देशभरका वडामा नेतृत्व चयनका लागि वडा सम्मेलन गरेको छ । माओवादीले शनिबारबाट देशभरका वडामा वडा सम्मेलनमार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने जनाएको थियो ।
शनिबार देशभरका अधिकांश वडामा एकसाथ सर्वसम्मत नेतृत्व चयन गर्ने भने पनि अझै १० प्रतिशत वडामा नेतृत्व चयन गर्न बाँकी रहेको छ ।
देशभरका ९० प्रतिशत वडा सर्वसम्मत रुपले माओवादीको नेतृत्व चयन गरिसकेको माओवादी केन्द्रीय कार्यालय प्रमुख शिव खकुरेलले जानकारी दिए । उनका अनुसार केही स्थानमा नेतृत्व चयनका लागि निर्वाचन गर्नुपर्ने भएकोले उक्त बाँकी रहेका स्थानहरुमा आज पनि नेतृत्व चयनका लागि सम्मेलन गरिँदैछ ।
माओवादी केन्द्रले वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । आजसम्ममा बाँकी वडामा नयाँ नेतृत्व चयन हुने र पूर्ण विवरण आउने कार्यालय सचिन श्रीराम ढकालले जानकारी दिए । वडा नेतृत्व चयनबारे विवरण आउने क्रम अन्तिम चरणमा पुगेको र पूर्ण विवरण आइसकेपछि सार्वजनिक गर्ने माओवादी केन्द्रीय कार्यालयको तयारी छ ।
माओवादी केन्द्रले शनिबारबाट एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको हो । यस्तै मंसिर ११ गते पालिका सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।
माओवादी केन्द्रले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ । यस्तै माओवादीले आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाण्डौमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापी रुपमा स्थानीय तह अन्तर्गतका वडाहरुको सम्मेलन भव्य एवं उत्साहपूर्ण रूपमा सम्पन्न भएको भन्दै आइतबार पार्टी सम्वद्ध सबै नेता तथा कार्यकर्ताका साथै शुभेच्छुक जनसमुदायमा बधाई दिइसकेका छन् ।




