लमजुङ।नेपाली कांग्रेस लमजुङ प्रदेश ‘ख’ को सभापतिमा रघुनाथ गुरुङ निर्वाचित भएका छन् । उनले दुई जना प्रतिद्वन्द्वीलाई हराउँदै सभापतिमा निर्वाचित भएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिएका उनले निकटतम प्रतिद्वन्द्वी संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवापक्ष मानिएका जीवनचन्द्र गुरुङलाई २१७ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । अर्का प्रत्यासी संस्थापनइतरकै अमृत न्यौपानेसँग निर्वाचित गुरुङको मतान्तर ३२२ छ ।
कांग्रेस स्रोतकाअनुसार पौडेल पक्षधर र नेता शेखर कोइराला पक्षधर कुरा नमिलेपछि संस्थापनइतर नै २ फरक नेताको समूह चुनावी मैदानमा होमिएको थियो । सभापतिमा निर्वाचित गुरुङले ३९६ मत ल्याएको निर्वाचन अधिकृत सोमराज चिलुवालले बताए । जीवनचन्द्र गुरुङले १७९ मत र अमृत न्यौपानेले ७४ मत ल्याए ।
उपसभापतिमा दीपेन्द्र रावलले ४०७ र सुकबहादुर विकले १७१ मत ल्याएर विजयी भएका छन् ।
सचिवमा सन्तोष गुरुङले ४ सय ५ र सुमन बसौलाले ३ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी जीवनचन्द्रको टीमका रमेश केसीले १६० र शंकर विष्टले १५४ मत ल्याए । प्रतिद्वन्द्वी अमृतको टीमका टसबहादुर गुरुङले ६८ र दिलीप रानामगरले ५७ मत पाए ।
सहसचिवमा रघुनाथ गुरुङ र अमृत न्यौपाने गरी दुवै टिमले उम्मेदवार बनाएका डम्मरबहादुर गुरुङले ४४० र रघुनाथको टीमबाट उम्मेदवार बनेका रामबहादुर परियारले ३८१ मत ल्याएर विजयी भएका छन् ।




