काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल नेतृत्वको समूहले बुधबारदेखि अनसन सुरु गरेको छ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरु भएको रिले अनसनलाई समर्थन गर्न नेपाली कांग्रेसका नेता रामशरण महत, रक्षामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य मिनेन्द्र रिजाललगायतका नेताहरु आज सानेपा पुगेका छन्।
क्रियाशील विवादको समाधान नभएको र सभापति शेरबहादुर देउवा पक्षले पेलेरै अघि बढ्न खोजेको भन्दै जिल्ला सभापति मल्ल नेतृत्वको टोली अनसन बसेको हो।
सभापति मल्लले बहुमत जिल्ला कार्यसमितिको निर्णयलाई उल्लंघन गरेर वडासभापतिको अनुपस्थितिमा गराइएको अवैध अधिवेशन खारेजीको माग गर्दै पटक–पटक लिखित आग्रह गर्दा पनि सुनुवाई नभएपछि आफूहरु अनसन बस्न बाध्य भएको बताए।
उनले निर्वाचन अधिकृतले नै निर्वाचन गर्ने भए पार्टीको संरचनागत निर्णयको अर्थ नहुनेसमेत बताएका छन्।




