काठमाडौं । खानेपानी मन्त्री मणि थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा क्षमा मागेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भुलवस ती शब्द प्रयोग भएको बताएका हुन्।
सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलामा थापाले श्री ५ को सरकारका तर्फबाट….ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्न चाहन्छु, भन्दै सम्बोधन सुरु गरेका थिए।
उनले आइतबार फेसबुकमा लेखेका छन्, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ। आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वुविधा नराखिदिनुहुन अनुरोध गर्दछु। मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुलवस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।’
अन्य पक्षको सानोतिनो गल्तीलाई सामाजिक संजालमा भाइरल बनाउने ओली पक्षका साइबर सेनाले मणि थापाको गल्तीलाई भने उजागर गरेका छैनन् । साइबर सेनाले लुकाउन खाेजेपनि मन्त्रीले श्री ५ को सरकार भनेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भएको थिए ।




