आजका पत्रपत्रिकाहरूमा राजनितिकदेखि सामाजिक र स्वास्थ्यसम्बन्धी समाचारहरुले प्राथमिकता पाएका छन् ।
आजदेखि सुरु हुने कोरोनाविरुद्धको खोप अभियानको समाचार सबै पत्रिकाले प्राथमिकताको साथ छापेको छ भने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएका छन् ।
नागरिक दैनिक राष्ट्रपतिले भुल गर्नुभयो शिर्षकमा पहिलो पृष्ठमा लेख्छ, पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरीकन सदर गर्नु भूल भएको बताएका छन्। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले कुनै पनि प्रकारको छलफल नगरीकन प्रतिनिधिसभा विघटन गरेकाप्रति आपत्ति प्रकट गरे।
त्यस्तै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा शिर्षकमा नागरिकमा अर्को समाचार पनि छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बोलेको कुराले अदालतको अवहेलना भएको दाबीसहित हदैसम्मको सजाय माग गर्दै सर्वोच्च अदालतमा मंगलबार दुईवटा निवेदन दर्ता भएका छन्।
अन्नपूर्ण पोस्ट्ले पहिलोपृष्ठमा नेकपाको दुबै समूहलाई निर्वाचन आयोगले पत्र काटेको खबरलाई प्राथमिकता दिएको छ । आयोगले दुबै समूहको दाबीलाई अस्वीकार गर्दै अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै रहने र अन्य हेरफेर समेत मान्य नहुने बताएको छ । आयोगले चुनावमा जान कि त मिलेर आउनु पर्ने वा पार्टी फुटेर आउनु पर्ने बताएको छ ।
निर्वाचन आयोगको पत्रलाई नै पहिलो पृष्ठमा छापेको राजधानी दैनिकले खोप अभियानलाई पनि प्रमुख प्राथमिकता दिएर छापेको छ । खोप अभियानमा चार लाख ३० हजार मानिस पहिलो चरणमा सहभागी हुने छन् भने खोप पाखुरामा लगाइने छ ।
पत्रपत्रिकाबाट




