ताजा समाचार

साउनकाे अन्तिम साता हुँने उद्योग वाणिज्य महासङ्घकाे निर्वाचनमा ढकाल समूहको उम्मेदवारी घोषणा   

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन । उनले मंगलबार आफ्नो समूहमा उम्मेदवारको समेत घोषणा गरेका हुन । समूहमा जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारीको उम्मेदवारी घोषणा भएको छ । उनी हाल महासङ्घको प्रदेश ५ कमिटीको अध्यक्ष हुन। यस्तै वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने देखिएको छ ।

त्यस्तै एसोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईलाई उम्मेदवार बनाइने भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन  । महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । सोही प्रावधानका कारण वरिष्ठ उपाध्यक्षको पद आकर्षक देखिएको छ ।

आगामी साउन २६ र २७ गते महासङ्घको अधिवेशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष ढकालले कोरोनाका सिर्जना भएका स्वास्थ्य र आर्थिक चुनौतीलाई सामान गरेर अगाडि बढ्नुपर्ने र त्यसका लागि सरकार र निजी क्षेत्रको बीचमा साझा प्रयास हुनुपर्ने बताए । आर्थिक चुनौती संसारभरका सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेको उल्लेख गर्दै उनले व्यक्तिगत पहलले मात्रै कुनै पनि काम अगाडि नबढ्ने बताए ।

महासङ्घमा आउने नयाँ नेतृत्वका रुपमा आउन आफ्नो समूहले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त नगरी मुलुकले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्ने ढकालले विश्वास व्यक्त गरे । उनले भने, “हाम्रो टिम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ । टिममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घराना सम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टिमको गाउँ जिल्लादेखिनीति गत तहसम्म पहुँच छ ।” निर्वाचनका क्रममा स्वाभाविक रुपमा समूहगत प्रतिस्पर्धा भए पनि महासङ्घलाई अगाडि बढाउने सवालमा आफूहरु एकै स्थानमा रहने र कोही कसैले पनि प्रतिस्पर्धीका रुपमा व्यवहार नगर्ने उम्मेदवार ढकालको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *