कर्णाली प्रदेश

बेपत्ता नौ जनाको शव भेटियो

 

जाजरकोट । बारेकोट–४ सार्कीगाउँमा पहिरोमा बेपत्ता भएकामध्ये नौ जनाको शव भेटिएको छ । स्थानीय ५२ वर्षिय गोपाल सार्की, उनका छोरा ११ वर्षिय अर्जुन, १४ वर्षिया छोरी तिर्खा, २० वर्षिय डिल्ली, कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षिया गौरी सार्की, १६ वर्षिया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । यस्तै कल्पना सार्की र सुभाष सार्कीको शव फेला परेको छ ।

यसैगरी बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने स्थानीय खोलाले बगाउँदा बेपत्ता छन् । जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्थापितलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ ।

मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय तीर्थराज बोहोराले जानकारी बताए । वडा नं १ को धौलाकोटमा ३२ परिवार विस्थापित भएका छन् । वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी परिवार विस्थापित भइ विद्यालयमा बसेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *