काठमाडौं । आफ्नो सांसद पद गएपछि समाजवादी पार्टीकी नेतृ सरिता गिरीले न्यायका लागि अदालतको ढोका ढकढक्याउने बताएकी छन् । उनलाई मंगलबार पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । गिरीले पार्टी निर्णयविरुद्ध अदालत जाने बताएकी छन् ।
आफूलाई पार्टीले षड्यन्त्र गरेर पदबाट हटाएको उनको आरोप छ । अनुशासनको कारबाही गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै रहेको भन्दै उनले यसका विरुद्ध न्यायालय जाने धम्की दिएकी छन् । भारतद्वारा अतिक्रमित नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसारको निशान छाप बनाउन गरिएको संविधान संशोधनका क्रममा संसदमा भएको मतदान नेतृ गिरीले बहिष्कार गरेकी थिइन् । उनले पार्टी निर्णय विपरीत संविधान संशोधन विधेयकविरुद्ध संशोधन दर्तासमेत गराएकी थिइन् । पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीको संसदीय दलले गिरीलाई कारवाहीको सिफारिस गरेको थियो । गिरीले आफु विरुद्ध षडयन्त्र भएको आरोप लगाएकी छन् । विधान विपरीत पार्टीले निर्णय गरेका कारण आफु अदालत जान लागेको उनको भनाइ छ ।




