ताजा समाचार

जति लकडाउन खुकुलाे, समुदायमा संक्रमण फैलने त्रास उत्ति नै बढी

काठमाडाैं । विश्व कोरोना भाइरसले आक्रान्त भएको छ । विश्वको शक्तिशाली राष्ट्र अमेरिका, ब्राजिल, बेलायत, स्पेन, रसिया, चीन, भारत लगायतका देश पनि अहिले कोरोनाको कहर झेलिरहेका छन । चीनको हुवेइ प्रान्तको वुहान शहरबाट सुरु भएको मानिएको कोरोना भाइरस विश्वका सबैजसो राष्ट्रको प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ ।
नेपालमा माघ १० गते पहिलो संक्रमण देखिएको थियो । अहिलेसम्म ७३ जिल्लामा यसको संक्रमण फैलिसकेको छ । यो आलेख तयार पार्दासम्म ५७६० जना संक्रमित भैसकेको छ भने १९ जनाको मृत्यु भैसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैनिक संक्रमितको संख्या बढिरहेको छ भने सरकारले परिक्षणको दायरा बढाउदै लगेको छ । अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले हालसम्म संक्रमण समुदायस्तरमा फैलिनसकेको दाबी गरिरहेको छ । तर नेपालको तयारी अवस्था र पूर्वाधार हेर्दा छिट्टै दोस्रो चरणमा कोरोना भाइरस फैलने पक्का छ ।
सरकारले पहिलो पटक गत चैत ११ देखि देशभर सात दिन लकडाउन गर्ने निर्णय गरिएको थियो । त्यसपछि पटक–पटक गरेर नेपालमा लकडाउन जारी भएका ८२ दिन पुगिसकेको छ ।
गत बुधबार बसेको मन्त्रीपरिषद् बैठकले अब लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको थियो । सरकारले पहिलो चरण अन्तर्गत २१ दिने योजना सार्वजनिक गरेको छ ।
योसंगै अब अधिकांश पसल, व्यापार व्यावसाय विस्तारै खुल्न थालेका छन । सरकारले असार १ गते देखि अत्यावश्यक सेवा प्रवाह गर्ने संस्था, उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ । साथै सरकारले खोल्न नमिल्ने क्षेत्रमा शैक्षिक संस्थादेखि खेलकुद मैदान हुँदै शैलुनसम्म पारेको छ । दुई सिफ्ट गरेर विहान ८ देखी १ र दिउँसो १ देखि साँझ ६ बजे सम्म सरकारी कार्यालय खुल्ने निर्णय पक्कै पनि सरकारको प्रभावकारी निर्णय हो ।
सरकारले निजी सवारी साधनमा दुई पाङ्ग्रेमा एकजना र चार पाङ्ग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्दै एक लहरमा एकजना मात्र यात्रु राख्न पाउने व्यवस्था गरिएको छ ।
एकातिर लामो समयदेखि लकडाउनले आक्रान्त भएका जनता अब विस्तारै दैनिकी सहज बनाउन चाहन्छन् भने अर्कोतिर दिनप्रतिदिन बढीरहेको कोरोनाको संक्रमणले डर र त्रास पनि छ । ठाउँ ठाउँमा आडिटी टेष्ट गरेर नेगेटिभ आएकाहरुलाई घर पठाउदा मृत्युको खबरले सरकार र सरकारी संयन्त्र आमजनताको स्वास्थ्य प्रति संवेदनशिल नभएको आरोप लागिरहेको छ । जनता आक्रोशित हुदै “पिसिआर टेष्ट गर्न सक्दैन भने सिक्का उफारेर गाई कि त्रिशुल गर बरु तर आरडिटि टेष्ट बन्द गर” भनेर व्याङग्य समेत गरिरहेका छन् । एकातिर जनताको आक्रोश स्वाभाविक हो भने अर्कोतिर हाम्रो जस्तो देशमा सिमित स्रोत र साधनका बीचमा सरकारले गरेको काम पनि त्यती असन्तोषजनक देखिदैन ।
अधिकांश क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डको आधारमा छैनन् तर कोरोना भाइरसको बढ्दो संक्रमण र भारत सहित तेस्रो मुलुकबाट स्वदेश भित्रनेको उल्लेख्य संख्याका आधारमा सिमित स्रोत र साधनबाट सेवा प्रवाह गर्नु सायद सरकार र सम्बन्धि निकायको बाध्यता पो हो कि? तर सरकारले आडिटि परिक्षणमा गर्ने खर्चलाई पिसिआर परिक्षणमा गरेको खण्डमा थप प्रभावकारी हुने थियो ।
लकडाउन खुकुलो भएसंगै दैनिक जनजीवन सहज त हुदैछ तर यसले संक्रमण समुदायस्तरमा फैलनसक्ने चुनौती पनि थपेको छ । लकडाउनका कारण घरभित्र थुनिदाका मानसिक तनाव कम हुने र आर्थिक क्रियाकलाप चलायमान हुनाले मानिसको दैनिकीमा जति सजकता हुन्छ त्यति नै समस्या पनि थपिदै जाने निश्चित देखिन्छ ।
स्वास्थ्य मन्त्रालयले क्रिटिकल केस दुईसयको दरले जिल्लामा देखिए स्वास्थ्य मन्त्रालय र स्थानीय पालिकाले नियन्त्रण गर्न नसक्ने हुदा पुनःलकडाउन गर्नुपर्ने स्थिति आउने भन्दै स्वयंले नै सजगता अपनाउन सबैलाई अनुरोध गरिरहेको छ ।
पछिल्लो समय चार सयको हाराहारीमा कोरोना संक्रमित भेटिएका छन् । जसको अर्थ हो जोखिम पनि दिन दुई गुणा रात चौगुणा बढ्दो छ । छिमेकी देश भारतमा लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस संक्रमणले भयावह रुप लिएको उदाहरण सवै विदितै छ । अहिले भारत विश्वकै सर्वाधिक कोरोना भाइरस संक्रमण भएको मुलुकको चौथो नम्बरमा छ ।
उताबाट नेपाल फर्कनेहरुमा कोरोना संक्रमणको दर उच्च रहेकोले नेपालमा बेलैमा थप सजगता अपनाउनु जरुरी छ । कोरोना त्रास र लकडाउने आर्थिक गतिविधि नै ठप्प प्राय भएको छ भने गुजारा चलाउन समेत हम्मेहम्मे परेपछि स्वतः जनता बजार खोल्न र आफ्नो दैनिकि सुचारु गर्न लागिपरेका छन् ।
जसरी हामीले हाम्रो दैनिकीलाई चलायमान बनाउदै लैजादै छौं, त्यसरी नि सामाजिक दुरी वा भौतिक दुरी कायम गर्नु, मास्क, चस्मा र पञ्जाको उचित प्रयोग गर्नु, साबुनपानीले पटकपटक हात धुनु, सरसफाइलाई व्यवहारका रुपमा बदल्नु र अल्कोहलयुक्त सेनेटाइजरको प्रयोग गर्दै कोरोना सर्न नदिन विश्व स्वास्थ्य संगठनले भने बमोजिमका क्रियाकलापलाई व्यवहारका रुपमा बदल्दै अगाडी बढ्न सके समस्याको समाधान हुने थियो कि? आफै सजग बनौं, अरुलाई पनि सिकाऔं र सम्बन्धित निकायलाई झकझकाउने काम पनि गरौं तर सामाजिक दुरीको उचित प्रयोग गर्न भने नछोडौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *