संखुवासभा।चैनपुर नगरपालिकाको ८ वटा वडाहरुलाई लक्षित गरी निर्माणाधिन चैनपुर वृहत्त खानेपानी आयोजना सम्वन्धित निकायलयले रि–डिजाइन गर्दा आयोजनानै प्रभावित बनेको छ ।
नेपाल सरकारको सहलगानी अर्न्तगत सञ्चालित उक्त खानेपानी आयोजना २ वर्ष अघिबाट निर्माणाधिन अवस्थामा छ । अघिल्लो डिजाइन अनुसार ८ वटै वडाका टोल बस्तीसम्म रिर्जभ ट्यांकी स्टीमेट अनुसार निर्माण भैसकेका छन् । यसै गरी पाइपलाइन विस्तार समेत तिब्र गतिमा अघि बढिरहेको अवस्थामा आयोजनाका लागि सम्बन्धित निकायले रि–डिजाइन गरेपछि काम प्रभावित बनेको कन्काई विल्डरस प्रालि कन्ट्रसका प्रतिनिधि गुणराज अधिकारीले जानकारी दिए । अधिकारीले आयोजनाका लागि चाहिने कच्चा तथा आवश्यक सामग्रीहरु आयोजना स्थलमा पुर्याइ सकिएको र भारतको बम्बैमा ५ करोड माथिको केही सामग्री स्टोर गरेर राखिएको बताए । तत्काल सम्बन्धित निकायले रि–डिजाइनको स्टीमेट उपलब्ध गराएमा आफूहरुलाई काममा थप सहज हुने समेत जानकारी अधिकारीले दिए ।
कन्ट्रसनका प्रतिनिधि अधिकारीले चैनपुर नगरपालिका स्थित सेवाखोला मुहानबाट ल्याइएको पानीलाई नगरको विभिन्न ठाउँमा ट्याङ्की स्थापना गर्दै खानेपानी वितरण गर्ने योजना रहेको जानकारी दिए । उनले थपे आयोजना सञ्चालनको क्रममा ट्याङ्की पोखरी, दलपे, सिद्धिपुर, लामीचौर, सिद्धकाली, चैनपुर, कुमालगाउँ, वानेश्वर, दंगालीगाउँ, त्रिशुले, काफलडाँडा, हात्तीसुढे, मयमलगायत १३ स्थान बढी ठाउँहरुमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

चैनपुर नगरपालिकाको वडा नं. १, २, र ४ का केही भागबाहेक सबै वडाहरुमा खानेपानी पुर्याउने उद्देश्यका साथ आयोजनाको कार्यसञ्चालन भईरहेको बखत खानेपानी विभागले नै समस्या गरेपछि काम प्रभावित भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष उमेश कुमार डाँगीले जानकारी दिए ।
चैनपुर वृहत्त खानेपानी आयोजना कुल ३२ करोडको लगानीमा सञ्चालित तीन वर्षे आयोजना यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्नुपर्ने भए पनि रि-डिजाइनका कारण तोकिएको सम्झौता मिति भित्र काम सम्पन्न गर्न नसकी म्याद थपगर्नु पर्ने दुःखेसो निर्माण कन्ट्रक्सनका प्रतिनिले गरेका छन् ।
कन्काई विल्डरस प्रालिले कामको जिम्मा लिइ निर्माणाधिन आयोजनाबाट प्रतिसेकेण्ड १२ सय लिटर ट्याङ्कीमा पानी झर्ने गरी ल्याइने आयोजनाले नगरका २६ सय घरधुरी यस खानेपानी आयोजनाबाट लाभान्वित हुने छन् । चैनपुर नगरबासीको दीर्घकालसम्म तिर्खा मेटाउने लक्ष्यका साथ अघि बढाइएको खानेपानी आयोजनाको कार्यप्रगतिले नगरबासीहरु उत्साहित भए पनि हाल विभागले आयोजनापछि धकेल्न खेजेका कारण भने केही निराश बनाएको उपभोक्ता समितिका उपाध्यक्ष ज्ञानबहादुर कार्कीले बताए । पूर्व गाविस अध्यक्ष समेत रहेका कार्कीले पोखरी बजारसम्म पानी खसिसकेको बताए ।

जलवायु परिवर्तन सँगै प्रतिवर्ष स्थानीय तहमा भएका पानीका मुहानहरु सुक्दै जाँदा खानेपानीको समस्या विकराल बन्दै गएको छ । कतिपय ठाउँमा खानेपानी अभाव भएका कारण बसाई नै सर्नु पर्ने वाध्यता नै बनेको छ । यो खानेपानी आयोजना सञ्चालन भएसँगै नगरबासीहरु खुशी देखिन्छन् । तर आयोजना नै प्रभावित बनेपछि स्थानीय उपभोक्ताहरुमा पलाएको खुशी निराशमा परिणत हुन थालेको छ । यो आयोजना चाडै सम्पन्न भएमा पानीका मुहान नभएका ठाउँहरुमा घण्टौ हिडेर पानी ल्याउने समस्याबाट जनताहरुले मुक्ती पाउने देखिन्छ ।




