ताजा समाचार

कांग्रेसको अन्तरिक विवाद शुक्रबार बिहान ९ बजे बसेर टुङ्ग्याउनुपर्छ भन्नेमा नेता सहमत

काठमाडौं । नेपाली कांग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ । सभापति देउवा निवास बूढानीकण्ठमा आज साँझ उनीहरुबीच पार्टीको महाधिवेशन, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा सकारात्मक छलफल भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

झण्डै तीन घण्टासम्म भएको बैठकमा विवाद समाधानका लागि यसअघि उपसभापति निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले गरेको गृहकार्य तथा छलफलका बारेमा समेत जानकारी गराइएको थियो । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तोकिएको मिति कायमै राख्ने तर अन्य तहका आगामी वर्ष मङ्सिरमा हुने अधिवेशन हिमाली क्षेत्रमा समयमै गर्न गाह्रो हुने देखिएपछि मिति सार्न सकिनेबारेमा छलफल भएको उनले बताए।

बैठकमा विधानका दफा निलम्वन, पार्टीका केन्द्रीय विभाग, नेपाल विद्यार्थी सङ्घ, तरुण दललगायत विषयमा समेत छलफल भएको थियो । शुक्रबार बिहान ९ बजे बसेर टुङ्ग्याउनुपर्छ भन्नेमा नेता सहमत भएको उपसभापति निधिले बताए । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि नेताहरु सिंह र सिटौला उपस्थित भएका थिए । कांग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि सभापति देउवा र नेता पौडेल पक्षबीचमा विवाद देखिएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो । सो बैठकमा आफ्नो माग पूरा नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य अनुपस्थित थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *