ताजा समाचार

गोकर्णेश्वर उत्तरगयामा बालागुरु, योगमायाको सालिक निर्माण शुरु

काठमाडौं । आबाल ब्रह्मचारी बालागुरु षडानन्द, योगमाया, दण्डीस्वामी प्रेमनारायण र महानन्दले साधना गरेको गोकर्र्णेश्वर उत्तरवाहिनी क्षेत्रमा चारै जनाको सालिक निर्माण शुरु भएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरगयाका रूपमा चिनिने वाग्मती उत्तरतिर बगेको उत्तरवाहिनीमा स्थापित कान्तिभैरव गुरुकुलले चारैजना व्यक्तित्वको सालिक निर्माण गर्न लागेको संस्थापक प्रा डा ऋषिराम पोखरेलले जानकारी दिए ।

गुरुकुलका आजीवन सदस्य, तपस्वी एवं साधक स्व हिरण्यप्रसाद भण्डारीको सोचअनुसार चारैजना साधुको सालिक निर्माण शुरु गरिएको गुरुकुलले जनाएको छ । भण्डारीको निधनले संस्कृत वाङ्मयको विकासमा अपूरणीय क्षति पुगेको उनले बताए । पण्डित भण्डारीको निधनमा आज गुरुकुलमा आयोजित शोकसभामा उनले उत्तरगया क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।

पण्डित हिरण्यप्रसादको १०३ वर्ष आठ महिनाको उमेरमा पुस १५ गते काठमाडौंमा निधन भएको थियो । १०३ वर्षमा निधन भएका भण्डारी धर्म संस्कृति र संस्कृत वाङ्मयको जिउँदो इतिहास रहेको प्रा डा पोखरेलले बताए । आवाल ब्रह्मचारी श्री १००८ षडानन्द, श्री १००८ योगमाया, श्री १००८ दण्डिस्वामी प्रेम नारायण र श्री १००८ महानन्दका सम्बन्धमा पूर्ण जानकारी राख्ने भण्डारीले उनीहरुको सान्निध्यमा रहेर साधनासमेत गरेका थिए ।

गुरुकुलका आचार्य डा श्रीराम अधिकारीले उत्तरवाहिनीमा तपस्याका क्रममा ब्रह्मलीन भएका श्री १००८ महानन्द भण्डारीको चाहनाअनुसार उनका पुत्र स्व हिरण्यप्रसादले उत्तरबाहिनी क्षेत्रको विकासमा योगदान पु¥याएको स्मरण गरे । भगवान् विष्णुको दायाँ पाउको पदचिन्ह रहेको गोकर्णेश्वर उत्तरगया क्षेत्रलाई चिनाउन स्व भण्डारीले महत्वपूण भूमिका खेल्नुभएको उनले सुनाए ।

नेपाल भ्रमण वर्ष २०२० मा गोकर्णेश्वर उत्तरगया क्षेत्रको महत्वलाई प्रचारप्रसार गर्न सके धार्मिक पर्यटक आउने भएकाले त्यसतर्फ हालसम्म स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यान जान नसकेको कार्यक्रमका वक्ता एवं सहभागीको गुनासो थियो ।  धार्मिकरूपमा गया भनेर चिनिने भारतीय तीर्थस्थलभन्दा गोकर्णेश्वर उत्तरगयाको महत्व बढी भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस क्षेत्रको अनुसन्धानमा लागेको गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले बताए ।

उत्तरवाहिनीस्थित सिद्ध गुफामा बालागुरु षडानन्द, योगमाया, दण्डिस्वामी प्रेमनारायण, महानन्दलगायतले साधना गर्नुभएको उत्तमप्रसाद पन्तले लेखेको ‘योगमायाधाम’, नीलम कार्की ‘निहारिका’ले लेखेको मदन पुरस्कार प्राप्त उपन्यास ‘योगमायाधाम’ मा पनि चर्चा गरिएको छ । उत्तरवाहिनीको सिद्ध गुफामा आजकाल पनि साधना गर्न साधु सन्त टाढाटाढाबाट आउने गरेको गुरुकुलका आचार्य अधिकारीले सुनाए । गुफाको प्रचारप्रसार गरी योग पर्यटनको विकास गर्न सकिने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *