ताजा समाचार

विपन्न परिवारका झुपडीका छाना फेरिँदै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का विपन्न परिवारका झुपडीका छाना फेर्ने कार्य अगाडि बढाइएको छ । वडा कार्यालयले विपन्न परिवारको छनोट गरी प्लाष्टिक, त्रिपाल, घाँस र खरले छाएका झुपडीका छानामा जस्तापाता राख्न थालेको हो ।

झुपडीमा बस्दै आएका परिवारलाई निःशुल्करूपमा वडा कार्यालयले जस्तापाता उपलब्ध गराउन थालेपछि विपन्न परिवारले सुरक्षित तरिकाले बस्न पाएका छन् । जस्तापाता पाएपछि खुशी व्यक्त गर्दै स्थानीयवासी करन नेपालीले यस वर्षको वर्षात्मा सहजरूपमा बस्न पाइएको बताए ।

त्रिपालको छाना फेर्न नसक्दा वर्षातका बेला पूरै पानी झुपडीमा चुहिँदा अनिदोमै रात बिताउनुपर्ने अवस्था थियो । “हावाहुरी आउँदा झुपडीको छत नै उडाएर लैजाँदा खुला आकाशमा बस्नु पर्दथ्यो,” उनले भने “परिवारसँगै झुपडीभित्रको सामान जोगाउ मुस्किल हुथ्यो, वडा कार्यालयले उपलब्ध गराएको जस्तापाताले परिवार सुरक्षित भएको छ ।”

वडा क्षेत्रमा रहेका विपन्न अवस्थाका ५० परिवारमध्ये १२ परिवारको झुपडीमा जस्तापाता राखिएको छ । प्लाष्टिक र घाँस राखिएका झुपडीका छानामा जस्तापाता राख्ने कार्य शुरु गरेका छौँ, वडाध्यक्ष हिमालय चन्दले भने “सुरक्षित बसोबासका लागि काम अगाडि बढाइएको छ ।”

गत वर्ष झुपडीमा बस्दै आएका नौ परिवारलाई जस्तापाता उपलब्ध गराइएकामा यस वर्षको हालसम्म तीन परिवारलाई जस्तापाता उपलब्ध गराइएको उनले बताए । जस्तापाताका लागि गत वर्ष रु एक लाख बजेटको व्यवस्था गरिएकामा यस वर्ष रु एक लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ । आउदो वर्षसम्म वडाका सबै विपन्न परिवारका झुपडीमा जस्तापाता लगाउने वडा कार्यालयको योजना रहेको छ । झुपडीमा बस्दै आएका अधिकांश परिवार दलित समुदायका छन् ।

बालविकास केन्द्र सञ्चालन

भीमदत्त नगरपालिका–१७ बाँसखेडामा बालविकास केन्द्र सञ्चालन गरिएको छ । स–साना बालबालिकालाई टाढाको विद्यालय जान समस्या भएपछि वडा कार्यालयले बालविकास केन्द्र सञ्चालन गरेको हो । वडा कार्यालयले रु पाँच लाखको लागतमा सिँचाइ नहरछेउको एक कठ्ठा जग्गामा बालविकास केन्द्रको भवन निर्माण गरेको हो ।

बालविकास केन्द्रमा २५ बालबालिका पढ्दै आएका छन् । बालबालिकालाई पढाउनका लागि शिक्षिकाको व्यवस्थासमेत गरिएको छ । बालविकास केन्द्रमा अध्ययन गर्ने अधिकांश बालबालिका दलित समुदायका छन् । वडामा सामुदायिक विद्यालय नभएपछि चुनावका बेला विद्यालय खोल्ने घोषणाअनुरुप बालविकास केन्द्र सञ्चालन गरिएको वडाध्यक्ष हिमालय चन्दले बताए ।

बालविकास केन्द्रलाई भविष्यमा विद्यालयका रूपमा परिणत गर्ने योजना रहेको उनले बताए । बालविकास केन्द्र नजिकै रु एक लाखको लागतमा वडा कार्यालयकै सहयोगमा चौतारासमेत निर्माण गरिएको छ । यस वर्ष बालविकास केन्द्रका लागि रु दुई लाख लागतमा शौचालयसमेत निर्माण गर्न लागेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *