मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

चैत्र १९ गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमामा बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत देखि २६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस सम्मका समाचार समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा भएको विश्वासको मत माथिको प्रस्तावमा मतदान हुदै प्रस्तावको पक्षमा ५६ मत परेको थियो । ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५६ मत नै आवश्यक पर्दछ । आजको मतदान प्रक्रियामा १०८ सांसद उपस्थित थिए । त्यस्तै प्रस्तावको विपक्षमा ३७ मत परेको थियो भने तटस्थमा १५ मत परेको थियो । बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् । १६ महिनाको अवधिमा उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरण बदलिएपछि आज प्रदेशसभाबाट फेरि विश्वासको मत लिएका हुन् ।

हल्लाको पछाडी नलागौं, पार्टी कसैको पेवा होइन : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् ।सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्बजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडी नलाग्न आग्रह गर्दौ चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने बताएका हुन् । उनले भनेका छन्- ‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्‍यो ? ज्यान मार्ने धम्कि कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौँ ।

अनावश्यक हो- हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरुको साझा आवाज हो ।’ नाउपाको आज अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रन्जिता समर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

बैंकहरुमा तरलता अत्याधिक बढ्यो 

बैंकिङ प्रणाली तरलता लगातार बढिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुमा निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघेको छ।

तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप चैत १७ गतेसम्म बढेर ६२ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। चैत १५ गतेसम्म कुल निक्षेप ६१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो। दुई दिनको अवधिमा निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ।यो २ दिनको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेर चैत १७ गतेसम्म ५४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। चैत १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८० अर्ब रुपैयाँ थियो।यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने स्थिर रहँदै चैत १७ मा पनि ५० खर्ब ८४ अर्ब रुपैयाँ नै रहेको छ। गत चैत १५ मा पनि कुल कर्जा लगानी ५० खर्ब ८४ अर्ब रुपैयाँ नै रहेको छ। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी चैत १५ मा ४४ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा चैत १७ मा पनि स्थिर रहँदै त्यति नै रहेको छ।चैत १७ गते बैंकहरुको औसत सीडी रेसियो ७९.६१ प्रतिशतमा झरेको छ। चैत १५ गते औसत सीडी रेसियो ७९.७० प्रतिशत थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर चैत १७ मा घटेर २.६३ प्रतिशतमा झरेको छ। चैत १५ मा अन्तरबैंक ब्याजदर २.७७ प्रतिशत थियो।

माओवादीबाट इलाम २ मा धीरेन्द्र शर्माको नाम सिफारिस

सत्तारुढ दल माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङका अनुसार इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको हो । उक्त निर्वाचन क्षेत्रका लागि सर्वसहमति उनको नाम सिफारिस भएको हो । इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरिसकेको भने नेपाली कांग्रेसले उक्त क्षेत्रको उमेदवार छनोटका लागि मंगलबारका लागि बैठक बोलाएको छ ।

३० उपसचिवको सरुवा

सरकारले ३० जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गरेको हो । सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने उद्योगका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका छन् भने मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

सहकारी ठगीमा आरोपित गृहमन्त्रीले छानबिन नभएसम्म पदबाट राजीनामा दिनुपर्छ : सांसद गौतम

प्रमुख प्रतिपक्ष दल नेपाली उकांग्रेसले पप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपबारे छानबिन नभएसम्म पदबाट राजीनामा दिन आग्रह गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद प्रतिमा गौतमले कुनै संलग्नता नभए संसदीय छानबिन समिति बनाउन बनाउन किन डराउनु प¥यो ? भन्दै प्रश्न गरेकी हुन् ।

सहकारी प्रकरणमा जोडिएकाहरुको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति बनाउन सरकार डराएपछि अहिले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेका विषयमा चर्को आलोचना गरिरहेको छ । नेपाली कांग्रेसले कुनै पनि काण्डमा जोडिएका मान्छेलाई संरक्षण गर्न नहुने भन्दै सुशासनको विषय उठाइराख्दा समेत प्रधानमन्त्री प्रचण्डले केही बोलेका छैनन् । उनले सरकार सहकारी पीडितहरूलाई न्याय दिने पक्षमा सरकार नरहेको बताउँदै सहकारी पिडितको समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व रहेको समेत उल्लेख गरिन् । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेमाथि परेको उजुरीमा मुद्धा दर्ता गर्न नमिल्ने बताएपछि आरोपी गृहमन्त्री आफूलाई परेको उजुरीलाई चिर्कटोको संज्ञा दिदैँ उजुरी ताम्रापत्रमा लेख्ने कि भन्दै कटाक्ष गरिन् ।

सांसद गौतमले सरकारले सहकारी ठगिको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन् । उनले संसदीय समिति गठन गर्ने विषयलाई ठुलो विषय नबनाउन आग्रह गर्दै आफु माथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने उनले आग्रह गरिन । प्रधानमन्त्री प्रचण्डले विवादित गृहमन्त्रीलाई नियुक्ती गरेपछि सरकारमा चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड र प्रहरी प्रमूखले दिएको अभिव्यक्तीले गृहमन्त्री लामिछालाई निर्दोष सावित गर्न सरकार लागि परेको देखिन्छ । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले रवि लामिछानेलाई शक्तिशाली गृहमन्त्रीको संज्ञा दिएर सत्तामा राजनीति खेल खेल्न खोजेका छन् ।

ग्रीन हाइड्रोजन उत्पादनमा नीति र लगानी बढाउनुपर्छ: सांसद पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले ग्रीन हाइड्रोजन उत्पादन गर्न आवश्यकपर्ने कानुन र लगानी बढाउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद पौडेलले काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर सफल परीक्षण गरेको र त्यसलाई अझ अनुसन्धान उत्पादन बढाउनुपर्ने बताए ।

“नेपाली विश्वविद्यालय जसले नेपालमै यो ग्रीन हाइड्रोजन उत्पादन गरेर जुन अनुसन्धान गर्यो, जसलाई सफलतापूर्वक परीक्षण गरेर देखायो र यो अनुसन्धानमा आबद्धलाई बधाई व्यक्त गर्छु”, उनले भने, “नेपालमा कुनै पनि चिज उत्पादन गर्नु आफैँमा ठूलो कुरा हो, त्यसमाथि ग्रीन हाइड्रोजन भनेको क्लिन ग्रीन एनर्जी हो, जुन नेपाललाई अत्यावश्यक छ, यो क्षेत्रको ठूलो सफलता हो, कोशेढुङ्गा हो ।” एउटा विश्वविद्यालयको गरेको अनुसन्धानलाई राज्यले गम्भीरतापूर्वक लिएर त्यसका निम्ति आवश्यक कानुन बनाएर उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

“एकसय किलोमिटर गाडी गुडाउन कति पेट्रोल आवश्यक पर्छ ? र त्यसको मूल्य कति हुन्छ र एक केजी ग्रीन हाइड्रोजन उत्पादन गर्न कति पैसा लाग्छ ? तुलना गरेर हेरौँ”, सांसद पौडेलले भने, “रु तीन खर्ब पेट्रोलियम पदार्थ आयात गर्नका लागि खर्च गरेका छौँ, त्यसको विकल्प यो ग्रीन हाइड्रोजन बन्न सक्छ र नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्छ, नेपाल आत्मनिर्भर हुनसक्यो र उत्पादन नेपाली बजारमा लान सक्यौँ भने नेपाललाई ठूलो लाभ हुन्छ ।”

चालु आर्थिक वर्ष सात महिनामा मात्रै नेपालले रु एक खर्ब ८४ अर्ब ९३ करोड पेट्रोलियम पदार्थ आयात गरेको तथ्याङ्क सार्वजनिक भएको उल्लेख गर्दै उनले व्यापार घाटा कम गर्न र विकासका लागि योजना बनाउन बनाउन जरुरी भएको बताए । विसं २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएअनुसार ग्रीन हाइड्रोजन उत्पादनमा वृद्धि गर्नुपर्ने उनको भनाइ थियो । सांसद पौडेलले हमासले बन्धक बनाएका विपीन जोशीको अवस्था अहिलेसम्म पत्ता नलागेको र रुसी सेनामा कति नेपाली रहेका छन् भन्नेबारे सरकारले अध्ययन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए ।

“रुसी सेनामा रहेका नेपालीका आफन्त पीडामा बाँचिरहेका छन्, त्यसबारे सरकार बेखबर छ, बेखबर मात्र होइन सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन”, सांसद पौडेलले भने, “पराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्रीसँग वार्ता गरे, तर अझै नेपालीको वास्तविक अवस्था बुझ्न पाएको छैन, उद्धारका निम्ति जुन ढङ्गले पहल हुनुपर्ने त्यो हुन सकेको छैन ।”

जहाज मर्मतसम्बन्धी कागजात पेश गर्न निगमलाई समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले न्यारोबडी जहाज मर्मतबारे समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो ।समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज मर्मतका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको भन्दै स्पष्ट जवाफ आउनेगरी समितिमा कागजात पेश गर्न निर्देशन दिए । “न्यारोबडी जहाजको इञ्जिन मर्मतका सम्बन्धमा समितिसमक्ष भ्रष्टाचार भएको सूचना छ”, समितिलाई निर्देशन दिँदै उनले भने, “निगमले समितिलाई विश्वास दिलाउनुपर्छ । यसमा भ्रष्टाचार भएको होइन, यी कारणले विलम्ब भएको भनी विस्तृत र ठोस रुपमा जवाफ दिनुपर्‍यो ।”

सभापति यादवले समितिले निगमको कामलाई थप प्रभावकारी बनाउन सहजीकरण गर्नेगरी बारम्बार निगम पदाधिकारीसँग छलफल गरिरहेको तर अहिलेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै अर्को बैठकमा विस्तृत छलफल गरेर थप निर्णय लिने बताए । गत मङ्सिर १५ गतेदेखि ग्राउण्डेड भएको निगमको न्यारोबडी जहाज गत पुस २६ गते मर्मतका लागि इजरायल पठाइएको थियो । उक्त जहाज मर्मतपछि आगामी वैशाख १५ गतेभित्र काठमाडौँ आइपुग्ने इजरायलको एमआरो कम्पनीले प्रतिबद्धता जनाएको निगमले उल्लेख गरेको छ ।

सभापति यादवले निगमको न्यारोबडी जहाज खरिद प्रक्रियाबारे आवश्यक अध्ययन गर्न उपसमिति बनाएर अगाडि बढ्ने बताए । “उपसमितिले १५ दिनभित्र भ्रष्टाचारजन्य काम भएको विषयमा थप अध्ययन गर्नेछ । न्यारोबडी जहाससम्बन्धी सम्झौताको बेला के भएको थियो र त्यसमा भ्रष्टाचार नभएको भन्ने विषयमा समितिलाई विश्वास हुनुपर्‍यो । होइन भने थप कारबाहीका लागि बाध्य हुन्छौँ”, उनले भने । बैठकमा सांसदहरुले निगमको न्यारोबडी जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइएको चार महिनाभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म मर्मत नभएको र निगमको उडान सेवा प्रभावित भएको विषयमा छानबिनको माग गरे । सांसदहरुले निगमबारे अध्ययन गर्न छुट्टै समिति बनाएर जानुपर्ने सुझाव दिएका थिए ।

सांसदहरु भीमप्रसाद आचार्य, सुनिता बराल, शिशिर खनाल, दामोदर पौडेल बैरागी, उदयशम्शेर जवरा, भीमप्रसाद आचार्य, प्रेम सुवाल, एकनाथ ढकाल, योगेश गौचन थकाली, डा धवलशम्शेर जवरालगायतले निगमको पुनःसंरचनाका लागि कार्ययोजना बनाउन, निगमभित्र भइरहेको अनियमितता रोक्न र निगमको उडान सेवालाई चुस्त र प्रभावकारी बनाउन निगमलाई आग्रह गरेका थिए । सभापति यादवले निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भइरहेको विवादले मुलुकको हवाई उडान र समग्र पर्यटन उद्योगलाई नकारात्मक असर पर्ने भन्दै युरोपेली सङ्घ (इयू) को कालोसूची हटाउन र निगमको उडान सेवालाई भरपर्दो, विश्वसनीय र प्रभावकारी बनाउन दुवै संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको औँल्या) । निगमको जहाजमा बारम्बार समस्या आउने गरेको, उडान रद्द हुनेजस्ता विषय बाहिर आइरहेको भन्दै व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठकाे नौँ दिने चीन भ्रमणका उपलब्धी

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणबाट नेपाल फर्केपछि पत्रकार सम्मेलन गर्दै चीन सरकार नेपालका हितका लागि अगाडी बढेको बताएका छन् । सोमबार त्रिभुवन विमानस्थलमा संचारकमीहरुसंगको कुराकानीमा मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताए ।

उनले रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्दै आफूले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्ने विषयमा चीन सरकारलाई आग्रह गरेपछि चीनले सकारात्मक भएको बताए । उक्त नाका खुलेपछि चीन सीमानजिक बसोबास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको बताउँदै उनले नेपाल–चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको उनले बताए ।

मन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको भएको दावी गरे । उनले चीन भ्रमणमा रहेको बेला चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेपछि चीन सरकारले सकरात्म सन्देश दिएको समेत उनले दावी गरे । नेपाल–चीन सीमाका केही क्षेत्रमा मल्टी फंग्सनल ल्याब स्थापना गर्न अनुरोध गरेको कुरामा चिनियाँ पक्ष सकारात्मक रहेको उनले जिकिर गरे । नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको पनि उल्लेख गरो । 

चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा आउँदा सन २०१६ बाट नै निःशुल्क गर्दै आएको उनले बताए । नेपालको महत्त्वपूर्ण तथा विश्वसनीय विकास साझेदारको रूपमा रहेको मित्र राष्ट्र चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । सन् २०१२ मा नेपाल–चीनबिच हस्ताक्षर भएको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनको दावी छ । नेपाल र चीनबिचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै घाँस, तरकारी तथा फलफूलहरू लगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको उल्लेख गरे । नेपाल–चीन सीमाका केही क्षेत्रमा मल्टी फंग्सनल ल्याब स्थापना गर्न अनुरोध गरेको कुरामा चिनियाँ पक्ष सकारात्मक रहेको उनले जिकिर गरे । नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको पनि उल्लेख गरो ।

नेपालको काठमाडौँ र पोखरा तथा चीनका विभिन्न सहरबिच थप उडानहरू सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएको उनको भनाई थियो । श्रेष्ठले लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताहरूको बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गरेको बताए ।

२६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २६ वटा निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सो अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *