गलेश्वर । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला ।
चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ ।
गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् । आङ्गन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ । दर्मिजा मात्रै होइन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।
सङ्घीयताको मर्मअनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडक हुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालय गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छ । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिस घट्दै गएका छन् ।
विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीणर् भएका छन् भने जनसंख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका-४ का वडा सदस्य समेत रहेका दर्मिजाका अगुवा धनबहादुर गर्बुजाले बताए ।
विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना- २०७८ को प्रारम्भिक नतिजामा ३.६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिए । ‘बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहर बजारबाटै विवरण सङ्कलन धेरै भएको छ’, उनले भने । उनले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहर बजारमा धेरै रहेको बताए ।
पूर्व प्रमुख सापकोटाले भने जस्तै जिल्लाका ६ वटै स्थानीय तहमा समेत विसं २०७८ को जनगणना अनुसार जनसंख्या कमी रहेको देखिन्छ । जनगणना कार्यालय म्याग्दीले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारतसहित तेस्रो मुलुकमा म्याग्दीबाट कूल विदेशिनेको संख्या १० हजार ७१३ रहेको छ ।
तीमध्ये ८ हजार ८४३ पुरुष र एक हजार ८७० महिला रहेको छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कु्ल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक छ । पछिल्ला वर्षमा महिला समेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसंख्याको अन्तर घट्दो रहेको छ ।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसंख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताए । ‘पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा ६/७ जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्धबुबा-आमा मात्र भेटिन्छन्’, उनले भने, ‘घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएका छन् ।’
सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँमा आर्कषित गर्ने नसकेको अवस्थामा नयाँ जनसंख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको पूर्वक्याम्पस प्रमुख थापाको भनाइ छ । बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमासमेत विद्यार्थीको संख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ । ‘युवा विदेशमा छन, अशक्त वृद्धवृद्धाको सेवा गर्नेको समेत कमी छ’, बेनी नगरपालिका-२ ज्यामरुककोटका वडाअध्यक्ष हीराबहादुर थापाले भने ।
उनले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरेपनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेको बताए । बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाइ छ । विसं २०६८ को जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजा अनुसार एक लाख सात हजार ३७२ जना रहेको छ ।
हराउँदै गयो गाउँलेपन
एक दशक अघिसम्म म्याग्दीका गाउँघरमा वरपर, तल-माथि बस्ती बाक्लो थियो । सबै घर-घरमा मानिस टन्न हुन्थे, निकै रमाइलो थियो । चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गथ्र्यो । दसैंको सराय नाच हेर्न होस् वा तीजको मेला हेर्न, तिहारमा देउसी भइली खेल्न वा भजनकीर्तन कुनै पनि मेला महोत्सवमा धेरै मानिसको उपस्थिति हुने गर्दथ्यो । कुनै पनि चाडपर्व आउँदा भने मनमा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।
कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष उमङ्ग नहोस् । गाउँमा मेलापात गर्दा होस् या गाईबाख्रा चराउन वन जङ्गलमा जाँदा तिजु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् या हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गर्दथ्यो । तर,आजभोलि ती सबै कुरा इतिहास बनेका छन् ।




