काठमाडौं। सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने विषय विस्तारै अन्यौल बन्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएसँगै गौतम राष्ट्रियसभा सदस्य बन्ने प्रकृया अन्यौलमा परेका हो । गत बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रकृया लम्बिएको हो ।
मिर्गौला प्रत्यारोपणको एक हप्ता अस्पताल बस्नुपर्ने तथा एक महिना आराम गर्नुपर्ने भएपछि मन्त्रिपरिषको बैठक बस्न केही समय लाग्ने तथा सरकारले अत्यावश्यक बाहेक कुनै निर्णय नगर्ने भएकाले पनि गौतमको राष्ट्रिय सभा यात्रा अन्यौल मात्र होइन अनिश्चित बन्दै गएको नेकपा स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री आफै गौतमलाई राष्ट्रिय सभामा लैजान नचाहेका कारण पनि मनोनयनको प्रकृया तत्काल अघि बढ्न सकेको थिएन । दुई हप्ता अघि बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो ।
राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत अर्थमन्त्री डा. युवराज खतिवडाको समय सकिएपछि सोही स्थानमा गौतमलाई लैजाने तयारी भएको थियो । खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल गत मंगलबारबाट सकिएको छ । आफ्नो कार्यकाल सकिएपछि खतिवडाले अर्थमन्त्रीबाट राजिनामा दिएर बुधबार पुनः नियुक्ति भएका थिए । पुनः नियुक्ति भएपछि उनले अर्थ र सञ्चारमन्त्रीका रुपमा कार्यभार सम्हालिसकेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनयन हुने कोटामा पार्टीको सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय गरेपछि अध्यक्ष समेत रहेका ओलीले अस्वीकार गरेका थिए ।
गौतमलाई सांसद बनाउन ओलीले अस्वीकार गरेका कारण तत्काल सरकारले मनोनयनको सिफारिस गर्न सकेको छैन । सिफारिस नहुँदै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भए । उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्री ओलीले सचिवालयको बैठकबाट भएको निर्णय नमान्ने बताएपछि पार्टीभित्र विवाद सुरु भएको थियो । ओलीले गौतमलाई अस्वीकार गरेपछि पार्टीभित्रको विवाद मिलाउन पार्टीका वरिष्ठ नेता माधव नेपाल सक्रिय भएका थिए । नेपालले गौतमलाई मनोनयन गर्न र खतिवडालाई मन्त्री बनाउने मध्यमार्गी सुझाव दिएका थिए । तर प्रधानमन्त्री त्यो विषयमा अझै कन्भिन्स नभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली स्वास्थ्य लाभ गरेर फर्केपनि उनले गौतमलाई मनोनयन गर्ने संभावना निकै न्यून रहेको स्रोतको दावी छ ।
पार्टीभित्र गौतमको विषयलाई लिएर विवाद भैरहेको बेला फागुन १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुने जानकारी गराएका थिए । त्यसदिन करिब आधा घण्टा बसेको सचिवालय बैठकमा गौतमबारे कुनै छलफल भएन । त्यसैदिन अध्यक्ष पुष्पकमल दाहाल र गौतम बेग्लै बसेर छलफल गरी सचिवालय बैठकमा गए पनि त्यहाँ ओलीलाई स्वास्थ्य उपचारबारे शुभकामना दिने काममात्रै भएको थियो ।
ओली निकटका केन्द्रीय सदस्य खगराज अधिकारीले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने गरी कुनै पनि निर्णय गर्न नहुने धारणा राखेका छन् । नारायणकाजी श्रेष्ठ पनि राष्ट्रिय सभा बैठकमा सहभागी भएपछि गौतम पनि छिटै राष्ट्रिय सभा सदस्य हुने दावी गरेका छन् । अहिले पार्टीभित्र गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने कि नबनाउने भन्ने विवाद चुलिएको छ ।




