ताजा समाचार

फर्केर हेर्दा : नेपाली राष्ट्रिय कांग्रेसदेखि नेपाली कांग्रेससम्म

अपरिमित तागत, गर्विलो इतिहास र उज्वल भवश्यि
नेपाली कांग्रेस स्थापना नेपालमा जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्ने मुख्य लक्ष्य लिएर भएको थियो । नेपाली काँग्रेसको २०१२ को महाधिबेशनबाट राजनीतिका रुपमा प्रजातन्त्रका र आर्थिक बिकासका लागि समाजवाद लक्ष्य भयो । २०१७ साल पुष १ राजा महेन्द्रले सेनाको आडमा प्रजातन्त्रको हत्या गरेपछि राष्ट्रियतामासमेत खतरा उत्पन्न भएको थियो । वीपी कोइराला २०३३ साल पौष १६ गते लामो प्रवासपछि स्वदेश फर्कर्नु भयो । स्वदेश फर्कने क्रममा उहाँले देशवासीहरुका नाममा सम्बोधन गर्ने क्रममा भन्नु भएको छ ‘हाम्रो देश आज राष्ट्रिय संकटमा छ । यता केही वर्षदेखि यी सङ्कट चुलिँदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिती आएको छ । यस तथ्यलाई अरुले पनि स्वीकार गरेका छन् । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कदै छौं । हाम्रो विचारमा अस्तित्वको संकट आई पर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो। जसले गर्दा हाम्रो देश बिदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामुहिक प्रयासबाट मात्र हुने अभियान हो र सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो त्यसो हुनाले हामीले प्रजातन्त्र पक्ष मात्र बढी जोड दियौ । आज यसमा एउटा नयाँ आयाम थपेको छ । नेपाली कांग्रेसले आज दोहोरो जिम्मेवारी आइपरेको छ । यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्नु’।
नेपाली राष्ट्रिय काँग्रेस स्थापना र संगठित भएको छोटो समयमा भारतीय स्वतन्त्रता सँग्राम समेतका योद्धा वीपी कोइरालाले २ अक्टुवर १९४६ मा पटनाबाट प्रकाशित हुने द र्सच लाईट पत्रिका सम्पादकलाई पत्रमा बिभिन्न कारणले भारतमा रहेका नेपालीहरूलाई देशबारे बिचार बिमर्श गर्न र सँगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सँगठन निर्माणका निम्ति गरेको आहृवानबाट बर्तमान नेपाली काँग्रेसको रुपमा उदय भएको देखिन्छ ।
नेपाली राष्ट्रिय काँग्रेसको स्थापना
यहि आह्वानको आधारमा बिपी कोइराला र गणेशमान सिहको सम्वन्धबाट २००३ साल माघ ११ गते कोलकताको भवानीपुरमा रहेको खालसा हाई स्कूलमा नेपाली राष्ट्रिय काँग्रेसको उद्धाटन सम्पन्न भै काठमाण्डौ जेलमा रहनु भएका टंकप्रसाद आचार्य सभापति र कार्यकारी सभापति बिश्वेश्वर प्रसाद कोईराला चुनिनु भयो । भोली पल्ट माध १२ गते सभापति बिश्वश्वर प्रसाद कोईरालाले कार्यसमिति गठन गर्नुभयो ।
सर्बोच्च नेता गणेशमान सिंहका बिचार, सत्य के हो ? मा १९४७ जनवरी २५ तारिखका दिन नेपाली राष्ट्रिय कांग्रेसको उद्घाटन समारोहको काम सिध्याई भोलीपल्ट २६ तारिखका दिन उपस्थित भएका प्रतिनिधिहरुले एउटा अस्थायी समिति बनाई अरुकुराका साथै निम्न लिखित निर्णय पनि गरे । यो उद्घाटन समारोह हतपतमा भएकोले र त्यसैकारण जिल्ला जिल्लाका प्रतिनिधिहरुका वैधानिक रितीले डाकिन नसकिएकोले अप्रिल मेसम्म अर्को ठूलो सभा डाकिने जसले यस संघका पदाधिकारीहरूको नियुक्तिको र अन्य आवश्यक कुराको विचार गर्ने उल्लेख छ । यस विषयमा केन्द्रको काम चलाउन समितिले माननीय टङ्कप्रसादलाई सभापति र उहाँको अनुपस्थितिमा काम चलाउनलाई बिश्वेश्वर प्रसाद कोइरालालाई कार्यकारी सभापति र डिल्लीरमण रेग्मीलाई प्रकाशन प्रचार विभागको अध्यक्ष छान्यो । त्यसपछि विश्वेश्वरप्रसाद कोइरालाले प्रतिनिधिहरूको राय लिई आफ्नो कार्यसमितिका सदस्यहरु रोज्नु भयो भनी स्थापना र कार्यसमितिको गठनको बिषयमा उल्लेख गर्नु भएको छ ।

नेपाली राष्ट्रिय काँग्रेस र बिराटनगरको मिल्स मजदुर आन्दोलन
नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको करीव तीन महिना पछि बिराटनगरको रानी मिल्स एरियामा मिल्समा काम गर्ने मजदुरहरुको हक हितका लागि आन्दोलन गर्ने अठोटका साथ गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा मजदुर संघ स्थापना गरियो ।२००३ चैत्र २१ गते कारखानामा दैनिक आठ घण्टा काम,सहुलियत दरमा रासन आदिको माग राखि आन्दोलन शुरु भयो । भर्रखरै स्थापना भएको नेपाली राष्ट्रिय काँग्रेसलाई पहिलेनै सहयोगका लागि खबर गरिएको थियो । यहि खबरको आधारमा कार्यकारी सभापति बीपी कोईराला बिराटनगर आउनु भयो र पार्टीको बैठक पनि जोगबनीमा कोलाउनु भयो।पार्टीले हडतालको नेतृत्व गर्ने निर्णय गर्यो । मजदुर संघले नेपाली राष्ट्रिय काँग्रेसको सहयात्री भै राजनैतिक स्वरुप गहण गर्न पुग्यो । नेपाली राष्ट्रिय काँग्रेसको स्थापना बिराटनगरको मिल्स हडताल बीपी कोइरालाको नेतृत्वमा आमसभा आयोजनाले नेपाली राष्ट्रिय काँग्रेसलाई छिट्टै नै देशव्यापीरुपमा स्थापित गरिदियो । गणेशमान सिंह भन्नुभएको छ – नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको बल्लबल्ल डेढ महिनाको बालक मात्र भएको थियो एकाएक विराटनगरको जुन र कटन मिलका दश हजार शोषित पद दलित लुन्ठित मजदुरहरुले पुँजीपतिका विरुद्ध रणभेरी बजाए । बिचरा मजदुरहरूको आर्तनादले नवमण्ड्ल गुञ्जयमान भयो । राम्रा अनुभवी संचालकहरुको कमि र साथै राजनीतिक संस्थाको आश्रय लिएपछि मिल मालिकहरूको मनमा ढ्याङ्ग्रो बजी उनीहरुको उचित माग पूरा गरिदेला भन्ने आशाले उनीहरुले नेपाली राष्ट्रिय कांग्रेसको सहायतामागी निम्तो पठाए ।

बिराटनगरमा कार्यसमितिको बैठक र हडतालको संचालन
गणेशमान सिंहले सत्य के हो ? मा विश्वेश्वरजी खुद निरीक्षण गरी यथार्थ कुरा बुझ्नका निम्ति विराटनगर जानुभएको थियो । उहाँ रित्तै फर्किए अरु कुनै ठाउँमा कार्यसमितिको बैठक बोलाई छलफल गरिरहँदा धेरैदिन लागि हडतालको हालत नाजुक होला कि भन्ने आशंकाले र साथै मजदुरहरुको मनमा पनि त्यहाँ पुगीसकेपछि फेरी फर्की आउँदा खराब प्रभाव पर्न जाला कि भन्ने विचारले कोइरालाजीले केन्द्रीय अफिसमा सबै कार्यसमितिका सदस्यलाई विराटनगरैमा मार्च १२ तारिखका दिन भेला हुनु भन्ने समाचार पठाउनु भयो । सो खबरबमोजिम रेग्मीजी, जेलमा रहनुभएका टङ्क प्रसादजी र कार्यसमितिका अरु एकजना सदस्य यथासमय उपस्थित नहुनुभएकोले प्रधानमन्त्री लगायत कार्यसमितिका दश जना सदस्यमध्ये सातजना ऐजन १२ तारिखका दिन विराटनगर पुगी सोही दिन कार्यसमितिको बैठक बसी नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वमा हड्ताल सञ्चालन गर्ने काम निश्चय गरियो । हडतालको खबर ईस्टेट्म्यानदेखि लिएर सारा हिन्दूस्तानका धेरैजसोको अखबारहरुमा छापियो भनी उल्लेख गर्नु भएको छ ।
हडतालको सिलसिलामा बीपी कोइरालासमेत पक्राउ पर्नुभयो । उहाँहरु गिरफ्तार भएपछि कलकत्तामा कार्यसमितिको बैठक बसी बैठकमा ९ अप्रिल १९४७ सम्ममा कोइरालाजीको रिहाइका साथै मजदुरहरूको माग पनि पुरा गरियोस नगरेका खण्डमा १३ अप्रिलदेखि नागरिक हकका निम्ति सत्याग्रह गर्ने प्रस्ताव नेपाल सरकारमा तारद्वारा पठाइयो । भाबी सत्याग्रह गर्नका निम्ति प्रतिनिधिहरूको स्वीकृति लिनकालागी १० अप्रिल दिन प्रतिनिधि सम्मेलन जोगबनीमा आयोजित गरियो। निर्णयानुसार मात्रिकाजीको नेतृत्वमा १३ अप्रिलदेखि सत्याग्रह प्रारम्भ भयो । जोगवनीमा सल्किएको त्यो आगो केही दिनपछि नेपालका अरु ठाउँमा पनि फैलियो । राणा प्रधानमन्त्री पद्मशमशेरले काठमाडौंमा १२ दिनभित्र सुधारको घोषणा गर्दे सत्याग्रह बन्द अनुरोध गरेकोले कार्यसमिति बैठक बसी सत्याग्रह स्थगित गर्ने गरी निर्णय भयो ।
नेपाली राजनीति जटिल मोडमा थियो । नागरिक अधिकारका लागि सँगठित संस्थाको आवश्यकता हुने समयमा नेपाली राष्ट्रिय काँग्रेसमा बिभिन्न कारणले कमजोरु हुदै गएकोले समान उदेश्य भएका दल र छरिएको जनशक्तिलाई एकिकृत गर्ने मनसायका साथ सुवर्ण शमशेरराणाको सक्रियतामा महेन्द्र विक्रम शाहलाई सभापति बनाई वि.सं.२००४ श्रावण १ (१५ अगष्ट, १९४८)मा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना भयो । (१२ फागुन, २००६ (२७ मार्च १९५०) मा दुई संस्थाका सभापतिहरू मातृकाप्रसाद कोइराला र महेन्द्रविक्रम विक्रम शाहले संयुक्त प्रेश विज्ञप्ती जारी गरी दुबै संस्थाको एकिकरण गरेर मजवुत पार्टी निर्माणको आवश्यकता महशुस गरी पार्टी एकिकरण भै नेपाली काँग्रेस बन्यो ।
अहिंसात्मक आन्दोलनबाट जनताको सर्वोेच्चता प्राप्त हुन नसक्ने परिस्थितिको मूल्याङ्कन गरी आन्दोलनलाई शशक्त बनाउन नेपाली कांग्रेसले २००७ असोज १० र ११ मा वैरगनीयामा रणनैतिक सम्मेलन आयोजना ग¥यो । यस सम्मेलनले शसस्त्र क्रान्तिबाटमात्र देशमा परिर्वन सम्भव छ भन्ने ठहर गर्यो ।
थिरवम मल्ल र पूर्ण सिंहको नेतृत्वमा नेपाली कांग्रेसका क्रान्तिकारी योद्धाहरूले २५ गते राती र २६ विहान विरगन्ज आक्रमण गरी सफलता प्राप्त भयो । दुर्भाग्यवस क्रान्ति योद्धा थिरवम मल्लले शाहदत प्राप्त गरे । २६ गते नै नेपाली कांग्रेसको सशस्त्र मुक्ति सेनाले विराटनगरमा आक्रमण गर्यो । त्यसैगरी क्रमशः भैरहवा, परासी, नेपालगञ्ज आदि ठाउँहरूमा पनि मुक्ति सेनाले आक्रमण गरे । देशभर क्रान्तिको आगो वल्न थाल्यो ।
नेपाली काँग्रेसले शुरु गरेको क्रान्तिको दवावमा राणाशाहीले जनताको सामु १०४ वर्षम्मको आफ्नो बंशानुगत शासनलाई परित्याग गर्न बाध्य भयो । राणाहरुको एकतन्त्री हुकुमी शासनको सट्टा जनताका प्रतिनिधिहरूको सरकार बन्ने र मुलुकको शासनभार प्रजातान्त्रिक ढंगबाट चल्ने सहमतिमा पुगी नेपाली कांग्रेसले क्रन्ति बन्द ग¥यो ।
पूर्व सहमति अनुसार नेपालमा पहिलो आम निर्वाचन २०१५ सालको फागुन ७ गतेबाट प्रारम्भ भयो । आम निर्वाचनमा नेपाली कांग्रैसले जम्मा १०९ सिट मध्ये ७४ सिट प्राप्त गर्यो । २०१६ साल जेठ १३ गते नेपाली कांग्रेसका नेता श्री विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा नेपालमा प्रथम जन निर्वातिचत सरकारको गठन भयो । तर २०१७ साल पौष १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरे संसदीय शासन प्रणालीमाथि प्रतिबन्ध लगाई प्रधानमन्त्री बीपी कोइरालासमेत सबै नेपाली काँग्रेसका नेताहरुलाई पक्राउ गरी कारावास पठाइयो ।
नेपाली काँग्रेसको नेतृत्वमा एकतन्त्री राणा शासनको समाप्ती र प्रजातन्त्रको स्थापनाका लागि २००७ सालको क्रान्ति , २०१७ सालमा भएको प्रजातन्बको हत्यापछि प्रजातन्त्र पुनस्थापनाका लागि २०४६ मा भएको आन्दोलन र राजा ज्ञानेन्द्रले गरेको सत्ता कब्जाको बिरुद्धमा २०६२÷०६३ को आन्दोलनको पनि नेतृत्व गरेको थियो । त्यस्तै माओवादीको दश बर्षे जनयुद्धवाट नेपालको राजनीतिको मूलधारमा शान्तिपूर्वक अवतरण पनि नेपाली काँग्रेसको नेतृत्वमा भएको थियो । दोश्रो संबिधान सभाको निर्वाचन सम्पन्न गराई नेपालको संबिधान पनि नेपाली काँग्रेसको नेतृत्वको सरकारले गरेको थियो । यहि कारणले नेपाली काँग्रेसको गौरवपूर्ण इतिहास हरेक नेपालीको मनमस्तिष्कमा सुरक्षित रहि आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *