मनोरञ्जन

‘घिन्ताङ्ग घिन्ताङ्ग मादलु’ गीत राजनीतिक उद्देश्यका लागि होइन: गायिका मिलन नेवार

काठमाडौँ। गायिका मिलन नेवार र ‘द भ्वाइस अफ किड्स’ सिजन ५ का शीर्ष ६ प्रतिस्पर्धीहरूको स्वरमा सजिएको सन्देशमूलक गीत ‘घिन्ताङ्ग घिन्ताङ्ग मादलु’ हालै सार्वजनिक भएको छ। दिनेशराज शिवाकोटी र राजनराज सिवाकोटीको शब्द तथा राजनराज सिवाकोटीकै सङ्गीत रहेको यो गीत देशप्रेम, पहिचान र मातृभूमिप्रतिको दायित्वमा केन्द्रित छ।

यसैबिच, गीतको ‘तिमीले माटोलाई चिनेमा’ भन्ने हरफलाई जोडेर गायिका नेवारले हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई समर्थन गरेको भन्दै सामाजिक सञ्जाल, रील्स तथा टिकटकमा भ्रामक दाबी र बहस भइरहेका छन्।

उक्त विषयमा स्पष्ट पार्दै गायिका नेवारले समाचार तथा सामाजिक सञ्जालमा चलेका दाबीहरूको खण्डन गरेकी छन्। गीतको कुनै राजनीतिक उद्देश्य नरहेको र आफ्ना प्रतिस्पर्धीहरूलाई मार्गदर्शन गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ गीत तयार पारिएको उनले बताइन्।

“आमा, माटो र देश चिन्नु नै आफ्नो पहिचान जोगाउनु हो,” गायिका नेवारले भनिन्, “माटोको सुगन्ध मिसिएका शब्दहरूमार्फत भाइबहिनीहरूलाई सिकाउने र ग्रुम गर्ने उद्देश्य मात्र हो। प्रत्येक व्यक्ति असल बनेमा देश आफैँ राम्रो बन्छ भन्ने नै यस गीतको मुख्य सन्देश हो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *