काठमाडौँ। सानो झिल्कोले ठूलो आगलागी निम्त्याएझैँ, डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ। ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ। निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। आज मोबाइल सम्पर्कको माध्यम मात्र नभई जीवनशैली निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ, र दुःखको कुरा बालबालिका यसको कुलतमा फस्दै गइरहेका छन्। ‘झिल्को’ यही ज्वलन्त समस्यालाई उजागर गर्दछ।
चलचित्रमा खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा भिडियो हेर्ने बालबालिकाको सामान्यजस्तै बानी र त्यसले पार्ने नकारात्मक असरलाई कलात्मक रूपमा देखाइएको छ। आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेलको सशक्त अभिनयले कथालाई जीवन्त बनाएको छ।
अभिभावकहरूले बालबालिकाको मोबाइल प्रयोगलाई बेवास्ता गर्दा भविष्यमा यसले कस्तो गम्भीर रूप लिन सक्छ भन्ने कुरा ‘झिल्को’ले चित्रण गरेको छ। एक सुखी परिवारमा डिजिटल कुलतको सानो झिल्को कसरी सल्किन्छ र त्यसले कस्तो असर पुर्याउँछ भन्ने कथाले समयमै सचेत नभए परिवारमा आउन सक्ने खतरालाई उजागर गर्छ।
प्रविधिमैत्री समयमा डिजिटल कुलतबाट आफू र बालबालिकालाई जोगाउनु ठूलो चुनौती हो। सुरुमा सामान्य लाग्ने यो लतले भविष्यमा पारिवारिक र सामाजिक सम्बन्धमा नकारात्मक असर पार्न सक्छ भन्ने कुरा चलचित्रले स्पष्ट देखाएको छ। टेलिशृङ्खलाबाट चलचित्रमा प्रवेश गरेका अभिनेता विशाल पोखरेलले यस चलचित्रमा काम गर्दा डिजिटल कुलतजस्तो महत्त्वपूर्ण विषयमा नयाँ ज्ञान प्राप्त गरेको बताए। उनले अहिले आफूलाई डिजिटल कुलतबाट बाहिर ल्याउन सकेको र यो चलचित्रले नयाँ पुस्तालाई बचाउनुपर्ने सन्देश दिएको बताए। उनले आफ्नो दैनिकीमा समेत परिवर्तन ल्याएको जानकारी दिए।
निर्देशक यादव भट्टराईले डिजिटल कुलतको विषयमा चर्चा गरेपछि अभिनेता पोखरेल यसमा काम गर्न राजी भए किनकि यस्तो विषयलाई अनुसन्धान गरेर चलचित्रमा ल्याइएको थिएन। नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ता बढेको र मोबाइल दैनिकीको हिस्सा बनेको अवस्थामा डिजिटल माध्यमले मानिसलाई पार्ने असरलाई पनि चलचित्रले समेटेको छ। यी सबै जानकारी पाएपछि अभिनेता पोखरेलले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति कम गर्नुका साथै घरमा बच्चालाई डिजिटल उपकरणको पहुँच कम गराएका छन्। उनले राति ११ बजे वाइफाइ राउटर बन्द गर्ने नियम बनाएको र यसले बच्चाको दिनचर्यामा सकारात्मक परिवर्तन ल्याएको अनुभव सुनाए। चलचित्रको उद्देश्य भर्चुअल संसारबाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु रहेको उनको भनाइ छ।
कोभिड–१९ को बन्दबन्दीमा अनलाइन कक्षाका कारण बालबालिकामा मोबाइलको पहुँच बढ्यो तर अभिभावकले त्यसको लत छुटाउन ध्यान नदिँदा यो समस्या बढेको अभिनेता पोखरेलको बुझाइ छ। उनले अभिभावकले पनि बालबालिकासँग हुँदा भर्चुअल संसार त्यागेर रमाउनुपर्ने र आफूबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने बताए।
मिडिया फर कल्चर प्रालिको निर्माणमा ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन भइरहेको छ। निर्देशक भट्टराईसँगै अरूणदेव जोशी र देव व्रतले कथा लेखेको यो चलचित्र डिजिटल कुलतका कारण र त्यसले निम्त्याउने नकारात्मक असरलाई उजागर गर्दछ। दर्शकहरूले यसलाई समयको यथार्थ र संवेदनशील विषयवस्तुमा आधारित चलचित्र भनेका छन्।
निर्देशक यादव भट्टराईले यसअघि ‘झोला’ र ‘भोर’ जस्ता नेपाली समाजका गम्भीर समस्यामा आधारित चलचित्रहरू निर्देशन गरिसकेका छन्। ‘झिल्को’ ले पनि डिजिटल कुलतको विकराल रूप देखाएर समाजलाई सचेत गराउने प्रयास गरेको छ। चलचित्र हेरिसकेका दर्शकहरूले यसलाई अभिभावक, शिक्षक र विद्यालय प्रमुख सबैले हेर्नुपर्ने बताएका छन्। अभिनेता पोखरेलले पनि ‘झिल्को’ आफ्नो कलाकारिता यात्रामा महत्त्वपूर्ण चलचित्र बनेको र यसलाई विद्यालय तथा स्थानीय तहसम्म पुर्याउने योजना रहेको बताए।
डिजिटल कुलतको सानो झिल्को कतै तपाईंको परिवारमा पनि सल्किरहेको त छैन? यो चलचित्र समयमै सचेत हुन र आवश्यक कदम चाल्न प्रेरित गर्दछ।




