मनोरञ्जन

पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ देखि प्रदर्शन हुने

काठमाडौँ । अभिनेता विपिन कार्कीले चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको सुन्दरता र संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गर्ने बताएका छन्।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै कार्कीले ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा चलचित्रमा समेटिएको जानकारी दिए।

उनले भने, “गीतसङ्गीतझैँ सरल र सहज कथामा यो चलचित्र बनेको छ। यसले दर्शकलाई दुई दशक अगाडिको ग्रामीण परिवेशमा फर्काउँछ। यो चलचित्र हेर्नेसँगै अनुभूति गर्ने किसिमको बनेको छ।” कार्कीले आफू यसअघिका चलचित्रमा भन्दा बिल्कुलै फरक भूमिकामा देखिने बताए।

चलचित्रका निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’ मार्फत आफूले कल्पना गरेको संसारलाई दर्शकमाझ पुर्‍याउन लागेको बताए। “मैले सोचेको एउटा संसारलाई चलचित्रको पर्दामा उतारेको छु। यहाँका पात्र र परिवेश मेरो कल्पना र यथार्थ हुन्। यसअघि गीतसङ्गीतमार्फत कथा भन्दै आएकामा यसपटक ठूलो पर्दामा आएका छौँ,” उनले भने।

पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यस चलचित्रमा विपिन कार्कीसँगै मिरुना मगर, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ र प्रेम सुब्बालगायत कलाकारको अभिनय छ। अभिनेत्री मिरुना मगरले पाँचथरको सुन्दर दृश्य र कर्णप्रिय सङ्गीतसँगै एक समाजको कथा चलचित्रमा प्रस्तुत गरिएको बताइन्। “बाल्यकाल विदेशमा बिताएकाले होला, यसपटक मैले छुट्टै संसारमा बाँच्ने अवसर पाएँ। मैले आफ्नो भूमिका सफलतापूर्वक निभाएकी छु। चलचित्रले गुरुङ–मगर र ब्राह्मण समुदायको संस्कृति र आपसी सद्भावलाई देखाउने प्रयास गरेको छ,” उनले भनिन्।

गायक सुजन चापागाईंले यस चलचित्रमा गीतसङ्गीत निर्देशकको भूमिका निर्वाह गरेका छन्। उनले चलचित्रमा काम गर्दा नयाँ अनुभव सङ्गालेको बताए। निर्माण पक्षका अनुसार ‘ऊनको स्वीटर’ यही वैशाख २६ गतेदेखि नेपालसहित विदेशमा प्रदर्शन हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *