मनोरञ्जन

राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य

कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आउनुभएको छ । त्यस्तो त आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रुपमा प्रस्तुत गरेर वाहवाही पाउनुभएको थियो । तर, प्रदर्शनरत चलचित्र ‘भूठान’ मा उहाँ हाँसो हराएको मान्छेका रुपमा प्रस्तुत हुनुभएको छ ।

कलाकारितामा ‘ह्युमर कमेडी’ को प्रयोग गर्नुहुने अभिनेता आचार्यले यस चलचित्रमा दुई दृश्यमा मात्र हाँसेको हेर्न पाइन्छ । यसकारण पनि पछिल्लो केही चलचित्रदेखि उहाँलाई हास्य कलाकार नभई अभिनेता भन्न थालिएको छ ।

सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई गम्भीरतापूर्वक लिएर पात्रलाई जीवन्त बनाउनुभएका बहुआयामिक आचार्य विविधता मन पराउनुहुन्छ । “मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने म भिन्न देखिएको छु,” अभिनेता आचार्य भन्नुहुन्छ । प्रस्तुत छ, अभिनेता आचार्यसँग कला यात्रा, चलचित्र निर्देशन र राजनीति प्रवेशको सम्भावना, नेपाली चलचित्रको विदेशी बजारलगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

चलचित्र ‘भूठानमा’ हाँसो हराएको मान्छेको भूमिका गर्न कसरी तयार हुनुभयो ? 

– मकहाँ धेरै चलचित्रहरुको पटकथा आउने गरेको छ । अहिले धेरैमा छोराछोरी विदेश र अभिभावक नेपाल रहेको कथा पाउने गरेको छु । तर, म आफूलाई नयाँ रुपमा प्रस्तुत गरौँ भन्ने सोचका साथ ती कथाहरु पढ्ने र सुन्ने गर्छु । तर, ‘सिचुएसनल कमेडी’ नभई संवादमा आधारित वा हाउभाउले गर्ने ‘कमेडी’ भएका कथा आइरहेका थिए । त्यही समयमा मैले ‘भूठान’ को पटकथा पाएँ । त्यो एकैपटकमा बुझ्न सहज थिएन, तर बुझ्दै गएपछि त्यसमा रहेको विविधताले मलाई आकर्षण ग¥यो । ‘बलिदान’ चलचित्रमा अभिनय गर्दा मैले सक्दिन कि भन्ने डर थियो, तर चलचित्र हेरेपछि धेरैले राम्रो गरेको प्रतिक्रिया दिनुभयो । ‘महाजात्रा’ मा पनि मैले केही फरक गर्ने कोसिस गरेको थिएँ । तर, निर्देशक प्रदीप भट्टराईले त्यसमा ‘ह्युमर’ हाल्नुभयोे । तर ‘भूठान’ को पात्र नितान्त फरक छ । एकै पटक पढ्दा बुझिँदैन, अनि मैले दुई÷तीनपटक पढिसकेपछि मेरो पात्र केही फरक र आफूले सोचेजस्तो पाएँ, त्यसछि कुरा अगाडि बढेको हो ।

तपाइँले चलचित्र ‘भूठान’ मा निर्वाह गर्नुभएको पात्र कसरी तयार भयो ? 

– म पटकथा पढेपछि रुने दृश्यमा पनि ‘ग्लिसिरिन’ को प्रयोग गर्दिनँ । किनकि कथा र पात्र जोडिएपछि त्यसको भावना हामीमार्फत देखिनुपर्छ । चलचित्र ‘भूठान’ को कथाले मलाई केही आभाष गराइसकेको थियो । चलचित्र छायाङ्कन अगाडि भएको कार्यशालाले मलाई सहयोग ग¥यो । तर, पनि आफैँलाई मैले निर्वाह गरेको विष्णुबहादुर केसी बन्न नसकिरहेको लागिरहेको थियो । एक दिन निर्देशक विनोद पौडेलले ‘दाइ, तपाइँ नेपाल जान पाउनु भएन भने के गर्नु हुन्छ ?’ भन्नुभयो । म एक्कासि निराश भएँ । किनकि विभिन्न कार्यक्रमका दौरान विदेश धेरै घुमिसकेको छु । म कार्यक्रम सकिनेबित्तिकै नेपाल फर्किन रुचाउने मान्छे । म निराश भएपछि अब यही भाव चलचित्रभर हुनुपर्छ भनेर निर्देशक पौडेलले भन्नुभयो । यसरी नै पात्र तयार भयो ।

छायाङ्कन अगाडि तपाइँको पात्रसँग मिल्दोजुल्दो व्यक्तिहरू भेट्नुभयो ? 

– त्यहाँ (अमेरिका) मा रहनुभएका नेपाली मूलका भूटानीसँग भेटघाट गरेर उहाँको कुरा सुनेको छु । हाम्रो संस्कार र संस्कृतिमा केही फरक छैन, तर उहाँहरू आफ्नो देश फर्कन पाउनुभएको छैन । त्यो दुःखद हो । युवा काममा व्यस्त भए पनि वृद्ध उमेरका अभिभावकहरू भने खुसी कम हुनुहुन्छ कि जस्तो लाग्यो । म त्यसरी बस्नु परेको भए सायद जीवित रहन सक्दिन थिएँ । मैले त्यो कल्पना पनि गर्न नसक्ने तीतो सत्य हो ।

चलचित्र ‘भूठान’ मा तपाइँ पूर्ण रुपमा निर्देशकमा समर्पित हुनुभयो ? आफैँले यस क्षेत्रमा ५० वर्ष बिताइसक्दा पनि त्यो समर्पण गर्न सकिन्छ ? 

– म कथामा ‘कन्भिन्स’ भएपछि निर्देशकलाई समर्पित गर्छु, किनकि चलचित्रको कप्तान नै निर्देशक हुन्छन् । म कार्यशाला गर्दा होस् वा दृश्य छायाङ्कन गर्दा आफ्नो काम दोहो¥याउनु पर्दा पनि झर्को नमानी गर्छु । किनकि हामी सबैको प्रयत्न राम्रो काम गर्ने नै हुन्छ । मैले चलचित्रमा चुम्बन गरेको छु, जहाँ शरीर नभई भावनाले एकअर्कालाई स्पर्श गरेको हो । श्रीमान्–श्रीमतीबीच यो स्वाभाविक हो । फेरि हामीले अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका हौँ । मैले गरेका केही नयाँ दृश्य कलात्मक छन्, भद्दा लाग्ने छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *