मनोरञ्जन

नयाँ वर्षमा नेपाली चलचित्रको उत्साहजनक व्यापार

काठमाडौँ। नयाँ वर्ष नेपाली चलचित्र उद्योगका लागि उत्साहजनक देखिएको छ। प्रदर्शनरत चलचित्रहरूलाई दर्शकले उल्लेख्य साथ दिएका छन्।

यस वर्षको सुरुवातमा चलचित्र भवनहरूमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ। ‘पिताम्बर’, ‘अञ्जिला’, ‘वसन्त’ र ‘कर्मा’ जस्ता चलचित्रहरू हेर्न दर्शकहरू उत्साहित देखिएको निर्माण पक्षले जनाएको छ। ‘पिताम्बर’का निर्देशक कृषा चौलागाईंका अनुसार नयाँ वर्षको दिन सोमबार चलचित्रले पाएका अधिकांश शोहरू भरिभराउ थिए।

निर्देशक चौलागाईंले भने, “हामीले काठमाडौं उपत्यकाका धेरैजसो हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएका छौं। चलचित्र हेर्ने दर्शकले निकै राम्रो प्रतिक्रिया दिनुभएको छ। नेपालमा यस्तो स्तरीय चलचित्र बन्छ भन्ने प्रतिक्रिया आउनु नै हाम्रो सफलता हो।” उनले आफ्नो समूह व्यापारिक रूपमा पनि सफल हुने विश्वास व्यक्त गरे। ‘मल्टीस्टारर’ भनिएको यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरी, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त र गौरव विष्ट लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक चौलागाईंका अनुसार कथाको माग अनुसार नै यी कलाकारहरूलाई चलचित्रमा समावेश गरिएको हो र दर्शकले चलचित्र हेर्दा हरेक कलाकारलाई कथासँग जोडिएको महसुस गर्नेछन्।

निर्देशक चौलागाईंले थपे, “हामीले दर्शकलाई एउटा स्तरीय चलचित्र दिने प्रयास गरेका छौं। कलाकारहरूको जमघट देखिए पनि कथा अनुसार सबैको भूमिका महत्त्वपूर्ण छ। यो चलचित्रपछि अन्य निर्माताहरूलाई पनि यस्ता कलाकारहरूलाई लिएर चलचित्र बनाउने आँट मिल्नेछ।” ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) को तथ्याङ्क अनुसार यो चलचित्रले रु एक करोड ८६ लाख (ग्रस) व्यापार गरेको छ।

अभिनेता विपीन कार्की, दिव्यदेव पन्त, मुकुन भुसाल र उपासना सिंह ठकुरीको अभिनय रहेको चलचित्र ‘कर्मा’ मा पनि दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। सौरभ चौधरीद्वारा निर्देशित यो चलचित्र द्वन्द्वप्रधान विधामा निर्माण भएको हो।

प्रकाश सपूत अभिनित तथा निर्देशित चलचित्र ‘वसन्त’ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ मा पनि नयाँ वर्षमा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ। ‘बक्स अफिस’ मा ‘अञ्जिला’ ले रु एक करोड ७७ लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ।

‘अञ्जिला’ का निर्देशक मिलन चाम्सले प्रदर्शनको पाँचौं हप्तामा पनि दर्शकको साथ पाउँदा निर्माण समूह आभारी रहेको बताए। उनले भने, “पहिलोपटक खेलाडीको जीवनीमा बनेको नेपाली चलचित्रले सफलता पाएको छ। यसले आगामी दिनमा अन्य क्षेत्र जस्तै खेलकुदलाई पनि चलचित्रको विषय बनाउन निर्माताहरूलाई प्रोत्साहन मिल्नेछ। साथै, हामीले कप्तान सुब्बाको घर बनाउने भनेका छौं, त्यो पनि छिट्टै पूरा हुने भएको छ।” यो चलचित्रमा कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा र माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *