काठमाडौँ। वर्ष २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो। यस वर्ष प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा ऐतिहासिक व्यापारिक सफलता हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस) को तथ्याङ्क अनुसार, फिल्मले ४६ करोड ८० लाख रुपैयाँ (ग्रस) को कारोबार गरेको छ, जुन नेपाली चलचित्र इतिहासकै उच्च हो। यस सफलताले २०८१ साललाई नेपाली फिल्म उद्योगमा स्मरणीय वर्ष बनाएको छ।
यस वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ बाहेक अन्य चार चलचित्रले पनि घरेलु बजारमा १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएका छन्। चलचित्र विकास बोर्डका अनुसार यस वर्ष ६० चलचित्र प्रदर्शनमा आएका छन् भने ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ गतेबाट प्रदर्शन हुँदैछन्। यस वर्ष स्वदेशी ६२ र विदेशी ८५ को हाराहारीमा चलचित्र प्रदर्शन हुने बोर्डको अनुमान छ। विदेशी चलचित्रको प्रदर्शन अन्तिम समयमा तय हुने भएकाले यो संख्यामा परिवर्तन आउन सक्नेछ।
१० करोडभन्दा बढी कमाउने अन्य चार चलचित्रमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख), ‘छक्कापञ्जा ५’ (१५ करोड २० लाख) र ‘बोक्सीको घर’ (१० करोड २ लाख) रहेका छन्। वैशाख १४ गते प्रदर्शन भएको ‘बोक्सीको घर’ ले अप्रत्याशित सफलता हात पारेको थियो। फिल्मको गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ को लोकप्रियताले फिल्मलाई राम्रो दर्शक दिलायो। केकी अधिकारी अभिनीत र सुलक्षण भारती निर्देशित यो फिल्मले कलाकारको स्टारडम भन्दा पनि फिल्मको विषयवस्तु र संगीत बलियो भए दर्शकले रुचाउने सन्देश दिएको छ।
वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठ ‘छक्कापञ्जा’ श्रृंखलाको व्यापार अघिल्लो फिल्मको तुलनामा घटेको र यसले बजारको आकार बढ्नमा अवरोध गरेको बताउँछन्। नयाँ दर्शकलाई आकर्षित गर्न फरक शैलीका फिल्म आवश्यक रहेको उनको धारणा छ। निर्देशक पुर्नेन्दु झा ‘पूर्णबहादुरको सारङ्गी’ को सफलताले नयाँ तथा पुराना निर्मातालाई फिल्म निर्माणमा थप उत्साहित बनाएको बताउँछन्।
यस वर्ष प्रदर्शन भएका फिल्ममध्ये ‘अञ्जिला’ ले ७ करोड ५० लाख रुपैयाँ कमाएर पाँचौं स्थानमा रहेको छ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो फिल्मको सफलताले खेलाडीको कथालाई पनि दर्शकले रुचाउने देखाएको निर्देशक मिलन चाम्सले बताए। यसले आगामी वर्षमा अन्य खेलाडीको जीवनीमा आधारित फिल्म बन्ने सम्भावना बढाएको उनको विश्वास छ।
यस वर्ष राम्रो व्यापार गर्ने अन्य फिल्ममा ‘पूजार सार्की’ (७ करोड ३७ लाख), ‘घरज्वाइँ’ (५ करोड ९ लाख), ‘फर्की फर्की’ (४ करोड ८४ लाख), ‘मनसरा’ (४ करोड ७८ लाख) र ‘लाज शरणम्’ (४ करोड ३४ लाख) रहेका छन्।




