काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानको नयाँ सिकन्दरले भारतीय बक्स अफिसमा सय करोडको आँकडा पार गर्न संघर्ष गरेको छ ।
मार्च ३० मा रिलिज भएको सिकन्दरले रिलिजको शुरुको तीन दिनमा राम्रो कमाई गरेपनि त्यसपछि फिल्मले बक्स अफिसमा संघर्ष गर्न शुरु गरेको थियो ।
पहिलो दिन २७ करोड ५० लाख भारु कमाई गरेको सिकन्दरले दोस्रो दिन २८ करोड ५० लाख कमाई गरेको थियो । त्यस्तै तेस्रो दिन १८ करोड ७५ लाख कमाई गरेको सिकन्दरले चौथो दिन ८ करोड ५० लाख, पाँचौं दिन ५ करोड २५ लाख र छैठौ दिन ३ करोड कमाई गरेको थियो । साथै सातौं दिन हिजो शनिबार फिल्मले साढे ३ करोडको हाराहारीमा कमाई गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसरी सलमानको फिल्म सिक्नदरले सात दिनमा ९२ करोड कमाई गरेको छ ।
त्यस्तै फिल्मले भारत बाहिर पनि राम्रो कमाई गर्न सकेको छैन । एक सातामा सिकन्दरले भारत बाहिरको बक्स अफिसमा ४८ करोड ४८ लाख मात्र कमाई गरेको छ ।
करिब २०० करोडको लागतमा बनेको सिकन्दरले बक्स अफिसमा लगत उठाउन नसक्ने देखिएको छ ।
सिकन्दरमा सलमानका अलावा रश्मिका मण्डाना, सत्यराज, काजल अग्रवाल, प्रतिक बब्बर, शरमन जोशी लगायतको अभिनय रहेको छ । फिल्मलाई एआर मुरुगाडोसले निर्देशन गरेका हुन् ।




