काठमाडौं । बेलाबेलामा विवादमा तानिदै आएका गायक तथा मोडल दुर्गेश थापा यतिबेला पुनः चर्चामा छन् । पछिल्लो चर्चा उनको गीतका शब्दले होइन, पहिरनले पाएको छ ।
देशको समसामयिक घट्नामा लक्षित गरी तयार पारिएको नयाँ गीतमा ब्यङ्य र सन्देश दुवै मिश्रित भए पनि विशेषतः महिला पोशाक सारी लगाएपछि दुर्गेश आलोचित भएका हुन् ।
म्युजिक भिडियो प्रमोसनका लागि सारी लगाएको अवस्थामा देखिएका दुर्गेश यसैका कारण विवादमा परेका थिए । भिडियोमा भने फरक ढंगले जमेका उनलाई धेरैले प्रशंसा नै गरेका छन् । सारी लगाएको दृश्यले धेरैको ध्यान खिचेको छ ।
भिडियोको केही अंशमा सारी लगाएको अवस्थामा देखिएका दुर्गेश निकै सानदार देखिएका छन् । देशमा भएका राजनीतिदेखि सामाजिक र जातीय विकृति एवं विसंगतिविरुद्ध चोटिलो प्रहार गरिएको छ ।
विश्वले पत्ता लगाउन नसकेको कोरोनाको उपचारलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले हल्का रूपमा लिँदै व्यक्त गरेको भनाइमाथि गीतमा उडाइएको छ । गीत मार्मिकसँगै चोटिलो छ । किनकी मुलुकमा भएका समसामयिक घटना–परिघटनालाई विषय बनाएर ब्यङ्य गरिएको छ ।
वसन्त थापाको संगीत र गीत रचना रहेको गीतमा कोरोना रिपोर्टलाई पनि ब्यङ्य गरिएको छ । बिरामीको मृत्युपछि मात्र कोरोना पुष्टि भएको रिपोर्ट आउने गरेको सन्दर्भमा गीत तयार भएको छ ।
कृष्ण बिके ‘भान्जा’ र गीतार सञ्जीव बराइलीको एरेन्ज रहेको भिडियोमा कोरियोग्राफी र निर्देशन काजिश श्रेष्ठले गरेका छन् । छायांकन अर्जुन तिवारी र सम्पादन मिलन विश्वकर्माको रहेको छ । भिडियोमा दुर्गेशका साथमा चिरञ्जीवी देवकोटा, काजिश श्रेष्ठ, जीवन सहानी क्षत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का देखिएका छन् ।




