जलश्रोत/उर्जा

विजयपुर-२ को साढे ४ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

काठमाडौं । साढे ४ मेगावाटको विजयपुर-२ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कास्कीमा निर्माण सम्पन्न आयोजनाको विद्युत शुक्रबार दिउँसोदेखि प्रसारण प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको परीक्षण गरेपछि विद्युत उत्पादन सुरु गरेको प्रवद्र्धक सिभिल हाइड्रो पावर कम्पनीका वित्तीय व्यवस्थापक निराजन महर्जनले बताए । उनका अनुसार आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको छ ।

‘आयोजनाबाट परीक्षण उत्पादन सुरु गरेका छौं,’ उनले  भने, ‘१५ दिनको विद्युत प्राधिकरणलाई निशुल्क दिएपछि व्यावसायिक उत्पादन सुरु हुनेछ ।’ उनले कोरोना (कोभिड–१९) महामारीका कारण आयोजनाको काम प्रभावित हुँदा लक्ष्यभन्दा झण्डै १ वर्ष ढिलो गरी उत्पादन सुरु गर्न सफल भएको बताए ।

आयोजनाबाट उत्पादन भएको विद्युत १३२ केभी लेखनाथ सबस्टेसनमा जोडिएको छ । आयोजनाबाट २०७६ फागुनदेखि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि कोरोना महामारीका कारण नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक नेपाल फर्किन नसक्दा परीक्षण सुरु गर्न सकिएको थिएन । 

यसबिचमा चिनियाँ प्राविधिकले अनलाइनमार्फत दिने निर्देशनअनुसार आयोजनाको परीक्षणको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । एक महिनाअघि मात्रै चिनियाँ प्राविधिक फर्किएपछि विद्युतगृहको बाँकी काम सम्पन्न गरेर परीक्षण सुरु गरिएको महर्जनले बताए । 

कम्पनीले कोरोना असरका कारण आयोजनाबाट निर्धारित तालिकाअनुसार विद्युत उत्पादन सुरु गर्न नसकेकोबारे विद्युत प्राधिकरणलाई पत्रमार्फत जानकारी गराएको थियो । आयोजना सम्पन्न गर्न ९५ करोड रुपैयाँ खर्च भएको छ ।

औद्योगिक घराना केसी समूहको लगानी रहेको आयोजनामा २ बैंकले ७१ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । यो विजयपुर–१ को क्यासकेड आयोजना हो । विजयपुर–१ निर्माण सम्पन्न भई  यसअघि नै सञ्चालनमा आइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *