जलश्रोत/उर्जा

सिंगटी–लामोसाँघु प्रसारण लाईन निर्माणले गति लियो

दोलखा । लामो समयदेखि जग्गा विवादका कारण सुस्त बनेको लामोसाँघु–सिंगटी १३२ केभी प्रसारण लाइन निर्माणले गति लिएको छ ।

जग्गा विवादका कारण रोकिएका आठ वटा टावर को जग निर्माण भए सँगै प्रसारण लाईन निर्माणले गति लिएको हो । सन् २०१२ को अन्त्यमा निर्माण सकिनु पर्ने प्रसारण लाईन विभिन्न ठाउँमा जाग्गा विवाद भएपछि अघि बढ्न सकेको थिएन ।

प्रसारण लाइनकालागि निर्माण गर्नु पर्ने १२५ ओटा टावरमध्ये ११७ ओटा टावरको निर्माण सम्पन्न भइसकेको तथा बाँकी आठ ओटा टावरको जग निर्माण गर्ने काम सकिएको लामोसाँघु– सिंगटी प्रसारण लाईन आयोजनाका आयोजना प्रमुख राजन ढुंगेलले बताए ।

जग निर्माणको काम सकिएकोले अब टावरकालागि आवश्यक समानहरु निर्माण स्थलमा पुर्‍याउने काम भइरहेको उनको भनाइ छ । ४० किलोमीटर डबल सर्किट तार तान्नु पर्नेमा निर्मित टावरहरुमा करीब ३१ किलोमिटर सिंगल सर्किट तार तान्ने काम समाप्त भएको आयोजनाले बताएको छ ।

आठ ओटा टावर निर्माण गर्ने, सिंगल सर्किट तार तान्ने तथा विद्युत् प्रसारण गर्नका लागि सिंगटी तथा लामोसाँघुमा रहेका सबस्टेशनमा उपकरण जडान गर्न प्राविधिक रुपमा अब डेढ महीनाको काम बाँकी रहेको आयोजना प्रमुख ढुँगेलको भनाइ छ ।

प्रसारणलाईन निर्माण समयमा सम्पन्न नहुदा सिंगटी खोला र खानी खोला तथा खारे खोला बेसिनमा निजी क्षेत्रका निर्माण भएको जलविद्युत् आयोजनाहरूले विद्युत् उत्पादन शुरु गर्न सकेका छैनन् ।

१० मेगावाटको सिप्रिङ खोलाको विद्युत् खेर गइरहेको छ । यस्तै ११ मेगावाटको तल्लो खारे खोला, ५ मेगावाटको घट्टे खोला, २५ मेगावाटको सिंगटी खोला आयोजना पूरा गरी परीक्षणको चरणमा रहेका छन् ।

विद्युत् प्राधिकरणले लामोसाँघु–सिंगटी प्रसारण लाइन तथा सबस्टेशन निर्माणकालागि भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वर्षभित्र प्रसारणलाइन र सिंगटीको सब–स्टेसनसमेत निर्माण गर्नु पर्ने थियो ।

सबस्टेसन निर्माणकालागि साढे १७ करोड रपियाँ र प्रसारण लाइनका लागि करीब ४२ करोड रुपियाँमा अरावलीले ठेक्का सम्झौता गरेको थियो । पहिलो पटक म्याद थप भएपछि ठेकेदार कम्पनी सम्पर्क विहीन भएपछि कम्पनीका स्थानीय प्रतिनिधिहरुले अहिले प्रसारण लाईनको काम गरिरहेका छन् ।

कुनै विषम परिस्थिति उत्पन्न नभएमा एक डेढ महीनामा सिंगल सर्किटबाट विद्युत् प्रसार गर्ने अवस्थामा आयोजना पुग्ने आयोजना प्रमुख ढुंङ्गेलको विश्वास छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *