जलश्रोत/उर्जा

विद्युत् विकासमा नयाँ आयाम

पर्वत । कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको कुस्मामा र म्याग्दीको दानामा रहेको सबस्टेसन र उक्त दुई सबस्टेसनलाई जोड्ने ३९.६० किलोमिटर लामो २२० केभी प्रसारण लाइन तयार भएपछि विद्युत् विकासमा नयाँ आयाम थपिएको छ ।

मुलुककै दोस्रो ठूलो उक्त सबस्टेसनको बिहीबार मात्र उद्घाटन गरिएको हो । अब उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा लैजान सजिलो भएको छ भने नयाँ उत्पादनका लागि लगानी आकर्षण गर्न पनि सहज हुने भएको छ ।

आयोजनाका अनुसार कालीगण्डकी प्रसारण लाइनको दाना कुस्मा खण्ड र कुस्मा तल्लो मोदी १३२ केभी प्रसारण लाइन सम्पन्न भएकाले कालीगण्डकी नदी बेसिनबाट अहिले उत्पादन भइरहेको र पछि उत्पादन हुने बिजुली प्रसारण गर्न सहज हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको विश्वास छ । कालीगण्डकी बेसिनअन्तर्गत हाल थापाखोला जलविद्युत् आयोजनाबाट १३.६ मेगावाट, घलेम्दी हाइड्रोबाट पाँच मेगावाट, मिस्ट्रिखोला जलविद्युत् आयोजनाबाट ४२ मेगावाट बिजुली उक्त प्रसारण लाइनमा आबद्ध गरिएको छ ।

यसले निजी उत्पादकलाई निकै सहज भएको शाक्य बताउनुहुन्छ । हाल उत्पादनको निर्माणाधीन ७० मेगावाट क्षमताको नीलगिरि–१, ४० मेगावाटको नीलगिरि–२, छ मेगावाटको रेलेखोला र कालीगण्डकी गर्जलगायतका आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न पनि यो लाइन प्रयोग हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *