काठमाडौं । अब २० देखि २५ मिनेटमै कोरोना भाइरसको संक्रमण पत्ता लाग्ने भएको छ । छोटो समयमै रिपोर्ट आउने ‘एन्टिजेन परीक्षण’ को विधि सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
कोरोनाभाइरसको संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको जानकारी स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले दिएका छन् ।
काठमाडौं उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिने भएको छ । डा. पाण्डेका अनुसार काठमाडौं महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क र बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ ।
सोमबार पाँच सयजनाको एन्टिजेन परीक्षण गरिएको जनाउँदै अब कोरोना परीक्षणको रिपोर्ट २० देखि २५ मिनेटमै आउने उनले बताए । एन्टिजेन पनि पीसीआरजस्तै भरपर्दो विधि भएको र घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिने उनको भनाइ छ ।




