कला/साहित्य

‘ताथलीः भूगोलदेखि लोक संस्कृतिसम्म’ पुस्तक विमोचन

भक्तपुर। ऐतिहासिक, धार्मिक, सांस्कृतिक, परातात्विक तथा सामाजिक जीवनका विविध आयामलाई समेटिएको अनुसन्धानमूलक कृति ‘ताथलीः भूगोलदेखि लोक संस्कृतिसम्म’ को लोकार्पण गरिएको छ ।

चाँगुनारायण नगरपालिका-९ ताथली वडा कार्यालयको प्रकाशन तथा पत्रकार हरिसुन्दर छुँकाको लेखन, अनुसन्धान तथा सम्पादनमा प्रकाशित उक्त पुस्तकको ताथलीमा आयोजित एक कार्यक्रममा परिचर्चासहित बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले कृति विमोचन गर्नुभएको हो ।

स्थानीय इतिहास, भूगोल, लोक संस्कृति, जात्रा-पर्व, मूर्त तथा अमूर्त सम्पदा, परम्परा, जनजीवन र मौलिक पहिचानलाई समेटेर तयार पारिएको उक्त पुस्तकलाई ताथलीको समग्र परिचय दिने महत्वपूर्ण दस्तावेजका रूपमा लिइएको पुस्तकका लेखक, अनुसन्धानकर्ता एवं सम्पादक छुकाँले बताउनुभयो ।

गोसाईंले इतिहास र संस्कृतिविनाको समाजको पहिचान कमजोर हुने भएकाले स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिनुपर्ने आँैल्याउँदै स्थानीय तहले आफ्नै इतिहास, संस्कृति र सम्पदालाई पुस्तकका रूपमा प्रकाशन गरी दस्तावेजको रुपमा राख्नाले इतिहासलाई जीवन्त बनाउने चर्चा गर्नुभयो ।

कार्यक्रममा साहित्यकार एवं संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजुले ताथली ऐतिहासिक र सांस्कृतिक दृष्टिले निकै समृद्ध क्षेत्र भए पनि यससम्बन्धी सामग्री छरिएर रहेको अवस्थामा यस पुस्तकले ती विषयलाई एकीकृत रूपमा प्रस्तुत गरेको बताउनुभयो । कार्यक्रममा लेखक केदारबहादुर थापा, लेखिका एवं शोधार्थी सिर्जना प्रजापति, चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरीलगायतले इतिहास, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा पुस्तक दस्तावेजका रूपमा रहने बताउनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *