देश

बास्तोला–कट्टेलको गिरफ्तारीविरुद्ध चार दल आन्दोलित, निर्वाचन बहिष्कारको घोषणा

काठमाडौं । चार राजनीतिक दल सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ ले नेताद्वय धर्मेन्द्र बास्तोलाऋषि कट्टेल लाई तत्काल रिहा गर्न माग गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी तथा नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध घटकहरू सहभागी समितिको आज बसेको बैठकले गिरफ्तारीको तीव्र विरोध गर्दै अविलम्ब रिहाइको माग अघि सारेको हो।

समितिद्वारा जारी विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको सरकारलाई लक्षित गर्दै नेताद्वयको पक्राउलाई ‘राजनीतिक दमन’ को संज्ञा दिइएको छ। विज्ञप्तिमा सरकारको कदमको भर्त्सना गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उल्लेख छ।

समितिले निर्वाचन प्रक्रियाविरुद्ध बहिष्कार आन्दोलन घोषणा गर्दै दुई चरणको कार्यक्रमसमेत तय गरेको छ। पहिलो चरणअन्तर्गत भोलिदेखि फागुन १२ गतेसम्म गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो अभियान तथा कोणसभा आयोजना गरिने जनाइएको छ।

दोस्रो चरणमा फागुन १३ गतेदेखि १८ गतेसम्म स्थानीय अनुकूलता अनुसार इटहरी, जनकपुर, चितवन, काठमाडौं, बुटवल, दाङ, बर्दिया र धनगढी लगायतका शहरमा बहिष्कार सभा सञ्चालन गरिने समितिले जनाएको छ। समितिले सरकारलाई ‘दमनात्मक कदम’ फिर्ता लिन आग्रह गर्दै आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *