देश

नेपाली कांग्रेसभित्र सहमति, सहकार्य र एकतालाई बलियो बनाउँदै वर्तमान राजनीतिक संकटको शृङ्खला अन्त्य गर्न नेपाल तरुण दलको आह्वान

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसभित्र सहमति, सहकार्य र एकतालाई बलियो बनाउँदै वर्तमान राजनीतिक संकटको शृङ्खला अन्त्य गर्न सबैलाई आह्वान गरेको छ। पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ नगरी अगाडि बढ्ने विकल्प नरहेको उल्लेख गर्दै तरुण दलले एकतामार्फत मात्रै चुनौतीपूर्ण अवस्थाको सामना गर्न सकिने धारणा सार्वजनिक गरेको हो।

तरुण दलका अनुसार विगतमा मुलुकले भोगेका विभिन्न राजनीतिक संकटहरू सामूहिक एकता र सहकार्यकै बलमा पार गरिएको इतिहास कांग्रेससँग छ। यही एकताले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको स्मरण गराउँदै संगठनले सोही संस्कारलाई आजको परिस्थितिमा पनि आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठनका रूपमा नेपाल तरुण दलले सधैं लोकतान्त्रिक मूल्य, आदर्श र जिम्मेवार राजनीतिक संस्कृतिको पक्षमा आवाज उठाउँदै आएको जनाएको छ। संगठनले सम्पूर्ण तरुणहरूलाई विचलित नहुन, सत्य, न्याय, शान्ति र प्रेमको मार्गमा अडिग रहँदै आपसी सद्भाव र एकता कायम गर्न आग्रह गरेको छ।

नेपाल तरुण दल सामाजिक कुरीति, विकृति र कुसंस्कारविरुद्ध निरन्तर संघर्ष गर्दै स्वतन्त्र, समुन्नत, भयमुक्त र समतामूलक समाज निर्माणको लक्ष्यप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै तरुण दलले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। संगठनले २०८२ साल माघ ६ गते सार्वजनिक अपिल जारी गर्दै आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि नेपाली कांग्रेसको रुख चिन्हसहित आयोजना हुने उम्मेदवार मनोनयन कार्यक्रममा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ।

केन्द्रीय सदस्यदेखि जिल्ला, क्षेत्र, नगर–गाउँ र वडा तहसम्मका सम्पूर्ण तरुण कार्यकर्तालाई उत्साहजनक उपस्थितिका लागि आह्वान गर्दै नेपाल तरुण दलले पार्टीलाई बलियो बनाउने जिम्मेवारी युवाकै काँधमा रहेको स्पष्ट पारेको छ। अपिलको अन्त्यमा संगठनले “जय नेपाल, जय तरुण” भन्ने नारासहित एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *